झापा महिला गोल्डकप अब कात्तिक १७ देखि
बिर्तामोड। कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता दुई दिन पछि सरेको छ ।
झापासहित अधिकांश स्थानमा भारी वर्षा भएकाले प्रतियोगिता दुई दिन पछि सार्ने निर्णय भएको आयोजक झापा महिला गोल्डकपले जनाएको छ। प्रतियोगिता शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ।
प्रतियोगिताको उद्घाटन खेल कात्तिक १७ गते सोमबारलाई सारिएको छ। आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार यसअघि सार्वजनिक गरिएको खेल तालिकाअनुसार २ दिनको मिति पछि धकेलेर प्रतियोगिता हुनेछ।
उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ। त्यस्तै, दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ।
तेस्रो खेलमा कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ। फाइनल खेल कात्तिक २४ गते हुनेछ।
यसैबीच, प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ।
१० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ। प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिए।
