शिक्षिका मृत्युः मानसिक तनाव दिएको आरोपमा विद्यालय निरीक्षक पक्राउ

काठमाडौँ। डोटीमा एक शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक जना विद्यालय निरीक्षकलाई पक्राउ गरेको छ। शिक्षिकालाई प्रेम सम्बन्धका कारण मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का बाजुराको भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षिका थिइन्। आरोपी शिक्षा तथा समन्वय एकाइ डोटीमा कार्यरत २८ वर्षीय विद्यालय निरीक्षक गणेश रावल हुन्।

मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दीपेन्द्र पालले जानकारी दिए। शिक्षिका खड्का सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी थिइन् र करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

प्रहरीले मृतकको सुत्ने कोठामा मोबाइलको कभर पछाडि एउटा सुसाइड नोट बरामद गरेको छ। सोही नोटका आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

सुसाइड नोटमा जानकी खड्काले गणेश रावलले दिएको मानसिक तनाव र ‘कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने’ उल्लेख गरेकी छन्।

नोटमा रावलले नै सामाजिक सञ्जाल फेसबुकबाट फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाएको र त्यसपछि भेट नभई सबै रावलको ‘फसाउने नाटक’ भएको उल्लेख छ।

मृतकका भाइ प्रदीप खड्काका अनुसार जानकी परिवारको जेठो सन्तान र मध्यमवर्गीय परिवारको मुख्य आयस्रोत थिइन्। उनकै कमाइमा रक्तचाप र माइग्रेनका बिरामी बुवाआमा आश्रित थिए।

भाइ खड्काले रावलले आफ्नी दिदीसँग विवाह गर्न दबाब दिएको र नभए ज्यान मार्ने धम्की दिएको समेत दाबी गरेका छन्।

डीएसपी दीपेन्द्र पालले रावलले यसअघि नै विवाह गरी सन्तानसमेत भइसकेको र श्रीमतीसँग सम्बन्धविच्छेद गरेका व्यक्ति भएको बुझिएको बताउँदै घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *