नेपालले भारतलाई हरायो, सावित्राको २ गोल

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली भारतलाई २-१ ले पराजित गरेको छ।

कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शन र दुई गोलको मद्दतमा नेपालले भारतमाथि जित दर्ता गरेको हो।

नेपालले खेलको दोस्रो मिनेटमै सावित्राको गोलमार्फत अग्रता लिएको थियो। विमला विकले दिएको लामो पासमा सावित्राले भारतीय डिफेन्डरलाई पछि पार्दै सहजै गोल गरिन्।

दोस्रो हाफमा पनि सावित्राले आफ्नो जादु देखाइन्। उनले खेलको ६२ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। यद्यपि, घरेलु टोली भारतले खेलको ८१औं मिनेटमा कृष्मा श्रीरभोइकारको गोलमार्फत एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन।

यस ट्राई नेसन्स कपको उपाधि भने यसअघि नै इरानले नेपाल र भारत दुवैलाई हराएर जितिसकेको थियो। नेपाल उपविजेता बन्यो।

पछिल्लो समय महिला फुटबलमा नेपालले भारतविरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ। भारतविरुद्ध नेपालको यो चौथो जित हो। नेपालले भारतलाई उसैको मैदानमा दोस्रो पटक पराजित गरेको हो। यसअघि सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो। यसबाहेक, काठमाडौंमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *