छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
विराटनगर । सूर्यदेवको उपासना गरिने आस्थाको महापर्व छठको आज मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ। यो अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने यो पर्वमा व्रतालुहरू आज रातभर जाग्राम बस्नेछन् र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको विधिपूर्वक समापन गर्नेछन्।
राजधानी काठमाडौंका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, कुपण्डोल लगायत देशभरका नदी, तलाउ र जलाशयका घाटहरूलाई विशेष रूपमा सजाइएको छ।
खासगरी तराई क्षेत्रमा मनाइने भए पनि पछिल्लो समय छठ पर्व पहाडी र हिमाली क्षेत्रमा समेत फैलिएको छ, जसले सामाजिक सद्भाव र एकता कायम गरेको मानिन्छ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल मिल्ने, परिवारको कल्याण हुने र सम्पूर्ण दुःखकष्ट हटेर जाने धार्मिक विश्वास छ। यो पर्व अत्यन्तै चोखो र सात्विक रूपमा मनाइने भएकाले व्रतालुहरू चतुर्थीदेखि नै शुद्ध खानपानमा बस्ने गर्छन्।
