चर्चित बलिउड कलाकार सतीश शाहको निधन
काठमाडौं। बलिउडका चर्चित अभिनेता तथा कमेडियन सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित शाहको शनिबार दिउँसो २ः३० बजे मुम्बईस्थित हिन्दुजा अस्पतालमा निधन भएको हो।
उनका प्रबन्धकलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार शाहको पार्थिव शरीर हाल अस्पतालमै राखिएको छ। उनको अन्तिम संस्कार आइतबार गरिने कार्यक्रम छ।
कमेडियन जोनी लिभरले सतीश शाहको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। लिभरका अनुसार, मिर्गौला प्रत्यारोपण गरिएपछि शाह पूर्ण रूपमा निको भएर डेढ महिनाअघि मात्रै घर फर्किएका थिए। शनिबार अचानक खाना खाएपछि उनी ढलेका थिए।
‘साराभाई’ र ‘जाने भी दो यारो’ बाट चर्चित
गुजरातको मांडवीमा जन्मिएका सतीश शाहले पुणेको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट अध्ययन पूरा गरेका थिए। उनले सन् १९७० मा बलिउड फिल्म ‘भगवान परशुराम’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए।
शाह टेलिभिजनमा ‘साराभाई भर्सेस साराभाई’ र ‘जाने भी दो यारो’ जस्ता शोबाट निकै चर्चित बनेका थिए। उनले ठूलो पर्दामा पनि ‘मै हुँ ना’, ‘कल हो ना हो’, ‘फना’ र ‘ओम शान्ति ओम’ जस्ता धेरै सफल फिल्महरूमा अभिनय गरेका छन्।
टिभी शोमा उनको यात्रा सन् १९८४ को ‘ये जो है जिन्दगी’ बाट सुरु भएको थियो, जहाँ उनले ५५ एपिसोडमा ५५ वटा फरक-फरक भूमिका निभाएर दर्शकमाझ गहिरो छाप छोडेका थिए।
