‘म्हः पूजा’: आत्माको उत्सव
यो साता हामी नेपालीको घरआँगन निकै झकिझकाउ भयो। रङ, बत्ती, मिठाइमसलाले आँखा रमायो। मन खुसी भयो। मुखले निकै गुलियो स्वादको मिठास पायो। पटकाको आवाजले कानमा असर गर्यो (वा: कान पटकाले सात्तो खायो)। यद्यपि उत्सवको उमङ्गमा अनेक पूजा–परम्पराको सनातन संस्कृति सम्पन्न गरियो। देवीदेवताको मात्रै होइन पशुपक्षी र मानिसको विधिपूर्वक पूजा गरी पर्वको फराकिलोपन पूरा गरियो।
यसैबिच मानिसको शरीरलाई नै परमात्माको स्वरूप मानेर गरिने ‘म्हः पूजा’ तिहारको रङ्गिन उत्सवमा मनाइने नेवार समाजको एक पवित्र र मौलिक परम्परा हो। वास्तवमा आत्माको उत्सवका रूपमा मनाइने ‘म्हः पूजा’ आत्मसम्मानको आसन पनि हो। यसले वर्षभरि जीवनलाई स्वस्थ र शान्त रहन प्रेरित गर्छ।
तिहार! शब्द उच्चारण गर्ने बित्तिकै मनमा मखमली र सयपत्रीको सुगन्ध, दियो, पाला र झिलिमिली बत्तीको टिलपिल उज्यालो अनि देउसी–भैलोको मिठो धुन गुन्जिन्छ। यो पर्व केवल झिलिमिलीको मात्र होइन, यो त प्रकृति, प्राणी र स्वयम् मानव अस्तित्वको गहिरो आदरको उत्सव हो। यही रङ्गिन मालामा उनिएको एउटा स्वर्णिम धागो हो– नेवार समुदायको ‘म्हः पूजा’ परम्परा।
‘म्हः’ को शाब्दिक अर्थ हुन्छ– शरीर। तर नेवार संस्कृति र दर्शनमा यसको महत्त्व देहको साधारण अर्थभन्दा निकै माथि रहेको मानिन्छ। ‘म्हः पूजा’ भनेको आफ्नो अस्तित्वलाई, शरीरभित्र रहेको चेतना र ऊर्जालाई परमात्माको स्वरूप मानेर गरिने दुर्लभ आत्मआराधना हो। यो आफूभित्रको ‘स्व’ लाई चिन्ने, बुझ्ने र सम्मान गर्ने एक गहन आध्यात्मिक यात्रा हो। स्वपूजाको यो संस्कृति आपसी हार्दिकता र प्रेमको परम्परागत निरन्तरताको पर्व पनि हो।
यस दिन घरको माहोल एउटा कलात्मक कार्यशालामा रूपान्तरित हुन्छ। परिवारकी ज्येष्ठ महिला, ‘नकिं’ (मुख्य महिला) ले घरका हरेक सदस्यका लागि श्रद्धापूर्वक मण्डप तयार पार्छिन्। चामलको पिठो, तेल, अक्षता, लावा, रङ्गीन फूल र विभिन्न रङ्ग र अन्नहरूको प्रयोग गरेर बनाइएको त्यो मण्डप केवल चित्रकला होइन, त्यो त सम्पूर्ण ब्रह्माण्डको लघुरूप हो, जहाँ पाँच तत्त्वहरूको सन्तुलन र जीवनको चक्र त्यस मण्डपमा प्रतिविम्बित भएको विश्वास गरिन्छ। हरेक मण्डप स्वयम् पूजित व्यक्तिको आत्माको आसन हो, जसले वर्षभरि उसलाई स्वस्थ र शान्त रहन प्रेरित गर्छ।
जब परिवारका सदस्यहरू मण्डपको अगाडि उमेरको क्रमानुसार लस्करै बस्छन्, त्यो दृश्य कुनै राज्याभिषेकको भन्दा कम हुँदैन। नकिंले अक्षताको टीका, पञ्चरङ्गी फूलको माला (कोखा) ले पूजा गर्दै हरेक सदस्यको शरीरमा शक्ति र सौभाग्यको आह्वान गर्छिन्। शरीर, वचन र मन (काय-वाक्-चित्त) को शुद्धीकरणको कामना गरिन्छ। यो सांस्कृतिक कर्म विधि मात्र नभएर, परिवारका सदस्यहरू बीचको स्नेह, आदर र भावनात्मक एकताको भावात्मक बन्धनलाई अझ कसिलो बनाउने अदृश्य सजीव र अदृश्य धागो पनि हो।
पूजाको समापनमा दिइने सगुनको महत्त्वले झन् गहिरो अर्थ र अभिप्राय व्यक्त गर्छ। अण्डा (आकाश तत्व), माछा (जल तत्व), मासु (स्थल तत्व) र रक्सी (तेज तत्व) को प्रतिनिधित्व गर्ने सगुनले जीवनको सम्पूर्णता, पञ्चतत्वको सन्तुलन र जीवन–ऊर्जालाई आत्मसात गर्न सिकाउँछ। सगुन ग्रहण गर्नु भनेको प्रकृति र शरीरले दिएको अमूल्य उपहारलाई कृतज्ञताका साथ स्वीकार गर्नु पनि हो।
त्यसैले ‘म्हः पूजा’ आत्माको उत्सव हो। यो नेवार संस्कृतिमा मात्र सीमित नभई, यो मानव जातिका लागि एउटा विश्वव्यापी सन्देश पनि हो– ‘आत्मज्ञान नै सबैभन्दा ठूलो ज्ञान हो।’ जबसम्म हामी आफ्नो शरीरलाई आदर गर्दैनौँ, आफ्नो चेतनालाई शुद्ध राख्दैनौँ, तबसम्म कुनै बाह्य पूजाले पूर्ण शान्ति दिन सक्दैन। यो पर्वले हामीलाई सिकाउँछ कि सुख, समृद्धि र लामो आयुको कामना गर्नुअघि, पहिले आफ्नो शरीरलाई मन्दिर मान्न सिक्नुपर्छ।
तिहारको चौथो दिन, ‘म्हः पूजा’ को यस पवित्र अवसरमा, जब नेपाल संवत् को नयाँ वर्ष पनि प्रारम्भ हुन्छ, तब हरेक नेवार घर उल्लास र नयाँ ऊर्जाले भरिन्छ। यो उत्सवले विगतका गल्तीहरूलाई पखाल्न, स्वस्थ, सकारात्मक र सचेत जीवनको लागि सङ्कल्प लिने मौका दिन्छ।
‘म्हः पूजा’ केवल एउटा परम्परा होइन, यो त आत्म–सम्मानको, जीवनोत्सवको र मानवतालाई आत्मिक उचाइमा पुर्याउने एक जीवन्त र भावनात्मक अनुष्ठान हो। यसको रङ्गिन मण्डपमा हाम्रो शरीर र आत्माले नयाँ वर्षको उज्यालो स्वागत गर्छ।
यद्यपि यस किसिमको आस्था र आराधनाका साथ मनाइने यो संस्कृति पूर्वको तयारी पनि कम उल्लेखनीय हुँदैन। आवश्यक सामानको किनमेल, पकाइ तुल्याइ गर्नु, सफा-सुग्घर गर्नुदेखि सिङ्गारपटारमा सजिएर तयार हुनु हेर्दा सजिलो लाग्छ। केही काम होइन जस्तो ठानिन्छ। कुनै अलमल र कुनै काम हुँदैन भन्ने पनि लाग्छ। तर कामले एक कप चिया पिउन पनि फुर्सद हुँदैन। एकछिन टुसुक्क बस्न पनि आराम मिल्दैन। अनि मध्यरात हुनै लाग्दा खानपान गराई, पखाल पुखुल गरी घुप्लुक्क सुत्दा बिहान भएको पत्तै हुँदैन।
