उत्तम साइत बिहान ११:३९, दिनभर लगाउन छैन बाधा
फाइल तस्बिर
काठमाडौँ। तिहारको मुख्य दिन आज दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउँदैछन्। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो चाडलाई यमपञ्चकसमेत भनिन्छ। यस वर्ष तिथि बढेर छैटौँ दिनमा भाइटीका परेको छ।
टीका लगाउन दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३९ बजेको अभिजित् मुहूर्त उत्तम छ। टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
अष्ट चिरञ्जीवी, यमराज, यमुनासहित अन्य देवताको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका र माला लगाइदिने परम्परा छ। शास्त्रीय रूपमा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा रङ्गको उल्लेख छ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी दिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र कपडा दिएर सम्मान गर्छन्।
