सत्य, मौन र धैर्यको स्वर

सत्य, मौन र धैर्यलाई कमजोरी ठान्ने हाम्रो समाजले जब स्वार्थ र प्रतिस्पर्धालाई नै सफलताको मापदण्ड मान्न थाल्यो, तब शान्तिको स्वर मर्न थाल्यो। हाम्रो राजनीतिको अन्योलता बढ्दै जाँदा, त्रिशूलीमा बस खसेका ती हृदयविदारक घटनाहरूझैँ जीवनका आशहरू पनि बेपत्ता हुँदै गएका छन्।

पोहोर साल, दशैं-तिहारको अवसर पारेर हामीले एउटा गीत-भिडियो सार्वजनिक गरेका थियौँ: “पक्कै फर्किन्छु यसपालि।”

संसारका जुनसुकै कुनामा मजदुरी गरिरहेका नेपालीहरूले आफ्नो परिवार, चाडपर्व, बाल्यकाल र गाउँठाउँका साथीहरूलाई कति धेरै ‘मिस’ गर्छन्- त्यो पीडा परदेशीलाई मात्र थाहा हुन्छ। यस्तै परदेशीहरू कयौँ वर्षपछि मुस्किलले बिदा मिलाएर खुसीसाथ नेपाल फर्कन्छन्, सकुशल काठमाडौँ उत्रिन्छन्।

छोरो (दाइ, भाइ) फर्किने भएपछि पीङ्ग बनाउने, घर पोत्ने, माला उन्ने र भैलिनी खेल्ने तयारीमा जुटेको परिवार। तर, अकस्मात् रेडियोले समाचार फुक्छ- “पहिरोमा परी बससहित सबै यात्रु बेपत्ता।”

परदेशबाट बिदा लिएर आएको छोरो बेपत्ता भयो भन्ने सुन्दा कसको मन थामिएला र?

यस्ता वियोगान्त घटनाहरू-

कहिले प्राकृतिक बहानामा,

कहिले राजनीतिक,

कहिले सामाजिक चेतनाको नाममा,

कहिले विकृतिको आवरणमा,

हामीले वर्षौँदेखि खेप्दै आएका छौँ।

ती घटना जसले:

कयौँका काख रित्तिए,

कयौँका सिन्दूर पुछिए,

कयौँका सहारा हराए,

कयौँका सपना टुटे।

हो, यस्तै वियोगान्त कथा समेटिएको गीत हो- “पक्कै फर्किन्छु यसपालि।”

प्रकृति सदैव आफैँमा निर्मम वेदनाको कथा हो। सामाजिक घटना र व्यक्तिगत अनुभवबाट आएको पीडा एक संवेदनशील मानिसका लागि सहन गाह्रो हुन्छ। यस्ता वियोगान्त गीत, कविता वा लेख लेखेर झन् पीडा बढाउने मेरो उद्देश्य होइन। म त केवल हरेक आत्मीय मानव वा प्राणीसँग भेट्न नसके पनि भावना साट्न सकूँ, अलिकति भए पनि दुःख र पीडा बाँड्न सकूँ भन्ने चाहन्छु।

यही सोचमा, म मेरो फुर्सदको समय लगानी गर्छु। सबै सँग भेटेर संवाद गर्ने समय पातलो भए पनि, म सामाजिक र मानवीय पीडा, संवेदनशीलताबाट एक क्षण पनि टाढा छैन।

आज मैले नेपाल सम्झेको छु।

गोलीले मरेका भाइ- बहिनी सम्झेको छु। अज्ञात तरिकाले जलेका मानिस सम्झेको छु। हाम्रा ऐतिहासिक सम्पदा जले, ती सबै सम्झेको छु। व्यवसायीहरूको धरोहर जलेको देखेको छु। निर्दोष मानिसहरूको घर जलेको देखेको छु। पुलिस जिउँदै पिटिँदै मरेको देखेको छु।

“अतिथि देवो भव” भन्ने देशमा पोखरा, काठमाडौँ र अन्य ठाउँमा पर्यटकहरूको भागदौड देखेको छु। भ्रष्टहरूलाई पनि देखेको छु, र सोचेको छु-किन यस्तो हुन्छ? यस्तो कसरी भयो? जवाफ पा छैन!

चोकमा मौका खोजिरहेका बद्मास-मनुष्यहरूलाई पनि बुझेको छु। म नतमस्तक छु, म केही गर्न सक्दिनँ, तर म केवल पीडा बाँड्न सक्छु।

म जन्मिएको ठाउँ साविक भरतपोखरी-९ (हाल ३३), हाम्रो कास्की, भरतपोखरी, निर्मलपोखरी, सुरौदी, स्याङ्जा समेट्ने यो क्षेत्रीय राष्ट्रिय सांस्कृतिक गीत सम्पूर्ण नेपालीहरूको साझा गीत हो।

आउनुहोस्, सबैले यो पीडालाई शक्तिमा बदलौँ। सम्बन्धित परिवारका सदस्यहरूको पीडालाई शक्तिमा बदल्न अवश्य पनि दयालु र चेतनशील नेपालीहरूले पहल गर्नेछन्।

यो हाम्रो दशैं-तिहारको गीत-भिडियो “फर्किन्छु यसपालि”-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *