सन्दीपको ५ विकेट, ५ रनले कतार पराजित
काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपालले कतारमाथि ५ रनको सङ्घर्षपूर्ण र रोमाञ्चक जित निकालेको छ। लेग स्पिनर सन्दीप लामिछानेको शानदार ५ विकेट प्रदर्शनको मद्दतमा नेपालले कतारलाई पराजित गरेको हो।
नेपालले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमै समेटिन पुग्यो। एक समय सहज जिततर्फ उन्मुख कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले भने जुबेर अलीले पनि ५२ रनको योगदान दिए। तर, अन्य ब्याट्सम्यानबाट उल्लेख्य प्रदर्शन नहुँदा कतार ५ रनले पराजित हुन पुग्यो।
नेपालका लागि खेललाई नाटकीय मोड दिने क्रममा सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै ५ महत्वपूर्ण विकेट लिए। उनलाई नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएर साथ दिए।
हारको मुखबाट खेल फर्काउन नेपालले आज पनि शानदार पुनरागमन गर्यो। खासगरी मध्यक्रममा दीपेन्द्रसिंह ऐरीको एक रनआउट र आदिलको अर्को रनआउटले खेल नेपालको पक्षमा आएको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। कप्तान रोहितले ४१ बलमा ७ चौका र १ छक्कासहित ५८ रन जोडे। यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए भने गुल्शन झाले ८ बलमा १६ रनको विस्फोटक क्यामिओ पारी खेले।
कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३–३ विकेट लिए भने मुहम्मद असिमले १ विकेट हात पारेका थिए।
यस जितसँगै नेपालले सुपर सिक्समा आफ्नो दोस्रो खेल जित्दै बलियो स्थितिमा पुगेको छ। यसअघि नेपालले आइतबार युएईलाई पनि १ रनको रोमान्चक अन्तरले पराजित गरेको थियो।
