विपिन जीवित छैनन् : इजरायली अधिकारी
काठमाडौँ। इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी अब जीवित नरहेको पुष्टि भएको छ। इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले यो दुःखद जानकारी दिएका हुन्।
राजदूत पण्डितका अनुसार आइतबार नेपाली समयअनुसार साँझ करिब ७:३० बजे इजरायली डिफेन्स फोर्सकी एक महिला कर्मचारीले दूतावासमा फोन गरेर जोशी जीवित नरहेको खबर गराएकी थिइन्।
दुःखद सूचना प्राप्त भएलगत्तै दूतावासले विपिनको परिवारलाई खबर गरेको थियो। राजदूत पण्डितले भिडियो कन्फ्रेन्समार्फत अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठूलोबुबाका छोरा किशोर जोशीलाई जानकारी गराएका थिए।
राजदूत पण्डितले भने, “हामीलाई फोन गरेर जानकारी दिइयो, विपिन अब जीवित छैनन्।”
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि विपित जीवित नरहेको भन्ने इजरायली अधिकारीहरूको भनाइ उधृत गर्दै समाचार प्रकाशन, प्रशारण गरिरहेका छन्।
जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए। गत अक्टोबर ७ मा हमासको हमलाका बेला उनी किबुत्ज अलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए र हमासले अपहरण गरेको आशंका गरिएको थियो। उनी त्यतिबेलादेखि नै बेपत्ताको सूचीमा थिए।
राजदूत पण्डितले हाल शव कहिले प्राप्त गर्ने भन्ने विषयमा स्पष्ट नभएको र यस विषयमा थप विवरण आधिकारिक रूपमा सुनिश्चित गर्न इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।
