शहीद परिवारको गुनासो: ‘न्याय माग्दा थाकिसक्यौं, कसैलाई कारबाही भएन’

काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीदहरूको परिवारले राज्यबाट न्याय नपाएको गुनासो गरेका छन्।

शहीद परिवारका सदस्य कमल सुवेदीले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार, राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीको उदासीनताप्रति गम्भीर आपत्ति जनाए।

उनले भने, “जो जेनजी होइनन्, उनीहरू राष्ट्रपतिसँगको छलफलमा सहभागी भएका छन्। तर हामी शहीद परिवारका कसैलाई छिराइएको छैन। हामीलाई अहिलेसम्म कुनै औपचारिक छलफलमा समेत राखिएको छैन।”

सुवेदीले जेनजी आन्दोलनबाटै प्रधानमन्त्री बनेकी सुशीला कार्कीले समेत पीडित परिवारलाई बेवास्ता गरेको बताए। “सुशीला कार्कीले न त हामीलाई न्याय दिन सक्नुभयो, न हाम्रो माग पूरा गर्न सक्नुभयो। आजसम्म उहाँले एउटा छलफलका लागि पनि बोलाउनुभएको छैन,” सुवेदीले भने।

गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै सुवेदीले भने, “गृहमन्त्रीले पनि शहीद परिवारलाई एउटै ठाउँमा राखेर छलफल गर्नुभएको छैन। हामी सडकमा बोलिरहेका छौँ, तर सरकार कानमा तेल हालेर बसेको छ।”

उनले जेनजी आन्दोलनका अपराधीलाई कारबाही गर्ने भन्दै गठित छानबिन आयोगको प्रभावकारिता माथि पनि प्रश्न उठाए। “न्याय खोज्दाखोज्दै हामी थाकिसक्यौँ। छानबिन आयोग त बनाइयो, तर खै त? आजसम्म कसैलाई कारबाही गरिएको छैन,” सुवेदीले आक्रोश पोख्दै भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *