राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक, को-को छन् सहभागी?
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मुलुकका प्रमुख राजनीतिक दलका नेताहरू सम्मिलित सर्वदलीय बैठक अहिले शीतलनिवासमा जारी छ।
राष्ट्रपति पौडेलको सक्रियतामा आयोजना भएको उक्त बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका सबै मन्त्रीहरू सहभागी छन्।
बैठकमा विभिन्न राजनीतिक दलहरूका नेता र प्रमुख प्रतिनिधिहरूको उपस्थिति छ। नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन्।
त्यसैगरी, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव बर्षामान पुनको सहभागिता छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुषाल बैठकमा उपस्थित छन्।
जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा। जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, तथा जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी लगायतका नेताहरू पनि बैठकमा सहभागी छन्।
अन्तरिम सरकार गठन भएपछिको यो पहिलो औपचारिक सर्वदलीय भेला हो, जसले मुलुकको वर्तमान राजनीतिक अवस्था र भावी कार्यदिशाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
