भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार

काठमाडौँ। भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। नोबेल पुरस्कार समितिले भेनेजुएलामा लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीबाट लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमण हासिल गर्न उनले गरेको निरन्तरको सङ्घर्षको कदर गर्दै यो पुरस्कार दिने निर्णय गरेको हो।

पुरस्कार घोषणा गर्दै नोबेल समितिका अध्यक्षले माचाडोलाई “बढ्दो अन्धकारको बीचमा प्रजातन्त्रको ज्वाला बलिरहेको शान्तिको साहसी र प्रतिबद्ध समर्थक” भनेर प्रशंसा गरे। समितिले अधिनायकवादी शासनका कारण भेनेजुएलामा राजनीतिक गतिविधि अत्यन्तै कठिन रहेको पनि बताएको छ।

“आइरन लेडी” को उपनामले पनि चिनिने माचाडोले लोकतन्त्रको सुधारका लागि काम गर्ने संस्था ‘सुमाते’ स्थापना गरेकी थिइन्। उनले देशमा स्वतन्त्र र निष्पक्ष चुनावको माग गर्दै आएकी छिन् र उनी हाल लुकेर बसिरहेको बताइएको छ। माचाडोलाई टाइम पत्रिकाको २०२५ का १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि समावेश गरिएको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कयौँ महिनादेखि आफूलाई नोबेल शान्ति पुरस्कारको दाबेदार भनिरहेका थिए, तर नोबेल समितिले उनलाई पुरस्कारका लागि छनोट गरेन। पुरस्कार विजेता माचाडोले १ करोड १० लाख स्विडिस क्रोना, एक स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछिन्। यस वर्ष घोषणा गरिएका सबै नोबेल पुरस्कारहरू डिसेम्बर १० मा ओस्लोमा प्रदान गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *