रिहा हुने बन्धकहरूको सूचीमा परेनन् विपिन

काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि हमास लडाकुले मुक्त गर्ने तयारी गरेका २० जना बन्धकहरूको नामावली सार्वजनिक भएको छ। तर सो सूचीमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सोमबारसम्म छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिक रहेको बताएका छन्।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न सहमत भएका थिए। सहमतिअनुसार पहिलो चरणमा हमासले आफ्नो कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्नेछ। इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका कञ्चनपुरका जोशीको हालको अवस्था कस्तो छ भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्ट जानकारी आएको छैन।

राजदूत पण्डितले इजरायली अधिकारीहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने प्रयास गरिरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयका कर्मचारीहरूका अनुसार पनि विपिनको अवस्था पत्ता लगाउने कोसिस भइरहेको छ, तर कुनै ठोस सूचना प्राप्त भएको छैन।

अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशीलाई हमासले किबुत्ज क्षेत्रमा आक्रमण गर्दा बन्धक बनाएर लगेको थियो। आक्रमणमा १० जना नेपाली विद्यार्थीहरू मारिएका थिए। विपिन सन् २०२३ नोभेम्बर १७ मा गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए।  त्यसयता उनको अवस्था अज्ञात छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *