टी-२० विश्वकप छनोट : आज नेपाल र जापान भिड्दै
काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत समूह ‘बी’ को महत्वपूर्ण खेलमा आज नेपाल र जापान आमनेसामने हुँदैछन्।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा हुने यो खेल नेपाली समयानुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ।
नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गर्दै प्रतियोगिताको ‘सुपर सिक्स’ मा स्थान सुरक्षित गरिसकेका छन्। त्यसैले, आजको यो खेल समूह चरणको सामान्य खेल मात्र नभएर अघोषित रूपमा ‘सुपर सिक्स’ को प्रारम्भिक भिडन्त जस्तै बनेको छ।
विजेतालाई ‘२ अंक’ को बोनस : प्रतियोगिताको नियमअनुसार, समूह चरणमा आफूले हराएको टोली पनि सुपर सिक्समा पुगेको खण्डमा विजेता टोलीले उक्त खेल जितेबापतको २ अंक सुपर सिक्स चरण सुरु गर्दा बोकेर जानेछ। यस कारण, आजको खेलको विजेताले सुपर सिक्सको यात्रामा २ अंकको महत्वपूर्ण अग्रता लिनेछ।
नेपालको विश्वकप यात्राको लक्ष्य : नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्ने लक्ष्यमा छ। उदीयमान क्रिकेटिङ राष्ट्रका रूपमा रहेको जापान पनि विश्वकपमा पुग्ने ऐतिहासिक धुनमा छ। यी दुई टोली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलोपटक एक-आपसमा भिड्न लागेका हुन्।
नेपाली टोली:
आजको खेलमा नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् भने दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन्। टोलीमा कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, र सोमपाल कामी समावेश छन्।
