महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नेपाललाई
काठमाण्डौ । नेपालले मलेशियासँगको महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको छ। आज भएको पाँचौँ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराउँदै शृङ्खला ३-२ ले आफ्नो पक्षमा पारेको हो।
यो जितसँगै नेपाली महिला टोलीले आउँदो जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्ने तयारीलाई बल पुगेको छ।
मलेशियाले जितका लागि दिएको १०४ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि रुवी पोद्दारले २६ रन र पुजा महतोले २३ रन को योगदान दिए।
बलिङतर्फ मलेशियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिजान, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान १-१ विकेट लिए।
त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेशियाका लागि विनिफ्रेड एनी दुराईसिंगमले सर्वाधिक ४० रन, माहिरा इज्जतीले १९ र ऐना हामिजाह हाशिमले १५ रन बनाए। नेपालका तर्फबाट राजमती ऐरी र कविता कुँवरले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिए भने रचनाकुमारी चौधरीले १ विकेट हात पारिन्।
पहिलो खेल: नेपाल ३ रनले पराजित, दोस्रो खेल: नेपाल ६ विकेटले विजयी , तेस्रो खेल: नेपाल १३ रनले पराजित, चौथो खेल: नेपाल ६ विकेटले विजयी, पाँचौँ खेल: नेपाल ५ विकेटले विजयी
