‘जेन जी’ आन्दोलनप्रति ऐक्यबद्धता, मुख्य नेताहरूको बहिर्गमन माग

काठमाडौँ। राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउने मागसहित ‘जेन् जी’ ले आयोजना गरेको आन्दोलनमाथि सरकारले गरेको कारबाही र नरसंहारमा जीवन आहुति दिनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न दलमा आबद्ध र अन्य अगुवा युवाहरूले आन्दोलनप्रति उच्च सम्मान र ऐक्यबद्धता प्रकट गरेका छन्।

उनीहरूले यो परिस्थिति अचानक नआएको र राजनीतिमा संस्थागत भ्रष्टाचारका विरुद्ध उठेको आवाजलाई राज्यले नसुनेपछि विद्रोह हुनु अनिवार्य भएको ठहर गरेका छन्।

जेन् जीले नेपाली समाजको ज्वलन्त माग लिएर सडकमा गएपछि यसले सबै नेपालीको समर्थन पाएको र राजनीतिक सम्भ्रान्तहरूलाई घुँडा टेकाएको आह्वानमा उल्लेख छ। यस आन्दोलनले नेपालीहरू राजनीति, प्रशासन र न्यायपालिकालाई भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहेको स्पष्ट सन्देश दिएको छ।

तर, मुख्य राजनीतिक दलका नेताहरूले यो सन्देश नसुनेझैँ गरेको र विभिन्न बहाना बनाएर फेरि पनि नेतृत्वमा रहने छलछाम गरिरहेको आरोप लगाइएको छ। यसरी आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुने र मुलुकलाई अझ ठूला दुर्घटनातर्फ धकेल्ने चेतावनी दिइएको छ। त्यसैले, लामो समयदेखि राजनीतिक दलको नेतृत्व कब्जा गरिहने र पालैपालो सरकार चलाउने मुख्य नेताहरूको बहिर्गमन हुनुपर्ने माग गरिएको छ।

जेन् जीका प्रतिनिधिहरूले आन्दोलनमा घुसपैठ गरी आगजनी, तोडफोड र लूटपाट गर्नेको निन्दा गर्दै निष्पक्ष छानबिन आयोगको माग गर्नु तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेर नयाँ निर्वाचनका लागि बनेको वर्तमान सरकारलाई सहयोग गर्ने सुझबुझ देखाउनु प्रशंसनीय भएको जनाइएको छ।

आज देश अस्थिरताका ठूला चुनौती र लोकतान्त्रिक भविष्यका ठूला सम्भावनाको दोसाँधमा उभिएको अवस्था छ। राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य शर्त हो। लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरी दलहरूको पुनर्गठन हुन नसक्ने भएकाले सबै राजनीतिक दलका दोस्रो/तेस्रो तहका नेताहरू र जिम्मेवार सदस्यहरूलाई आ-आफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न आह्वान गरिएको छ।

* * *

हाम्रो आह्वान
राजनीतिलाई भ्रष्टाचार मुक्त गर्ने मागका साथ जेन् जीले आयोजना गरेको शान्तिपूर्ण र गरिमापूर्ण आन्दोलनमाथि सरकारले गरेको कायरतापूर्ण आक्रमण र नरसंहारमा जीवन आहुति दिने हाम्रा सबै प्रिय साथीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ । सबै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ र सबै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

यो परिस्थिति अचानक आएको होइन । राजनीतिमा संस्थागत भएको भ्रष्टाचारका विरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरुबाट आवाज उठिरहेका थिए । राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरुले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो । जेन् जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो । पार्टी र राज्य कब्जामा लिएपछि जेगरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरुलाई यस आन्दोलनले घुँडा टेकाएको छ । लामो समयदेखि राजनीतिक पार्टीहरुको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरुलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेन् जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ ।

जेन् जी आन्दोलनको माग र सन्देश स्पष्ट छ : नेपालीहरु राजनीति, प्रशासन र न्यायपालिका लगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहान्छन्, त्यसका लागि राजनीतिक दलहरु जिम्मेवार बनून् भन्ने चाहान्छन्, राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहान्छन् । तर मुख्य राजनीतिक दलका नेताहरुले अझै पनि उक्त सन्देश नसुनेझैँ गरेका छन् । विभिन्न बाहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन् । आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ । यस्तो बाहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ घकेल्ने छ ।

नवयुवाको यस आन्दोलनमा घुसपैठ गरेर अनावश्यक आगजनी, तोडफोड र लूटपाट गर्नेहरुलाई स्वयं जेन् जीका जिम्मेवार प्रतिनिधिहरुले निन्दा गरेका छन् र निश्पक्ष छानविन आयोगको गठनको माग गरेका छन् जसमा हाम्रो पूर्ण समर्थन छ। यसका साथै यिनीहरुले जसरी पनि राजनीतिक दलको नेतृत्व कब्जा गरिहने र पालैपालो सरकार चलाउने मुख्य नेताहरुको बहिर्गमन हुनुपर्छ भन्ने माग गरेका छन् । उनीहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको र नयाँ निर्वाचनका लागि बनेको वर्तमान सरकारलाई सहयोग गर्नु पर्ने बताइरहेका छन् । संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले यस आन्दोलनलाई बदनाम र असफल बनाउँछ भन्ने कुरामा उनीहरु सचेत देखिन्छन् । प्रगतिशील, लोकतान्त्रिक, समावेशी, न्यायपूर्ण र विकसित नेपालका लागि हाम्रा अग्रजहरुले करिब नौ दशकसम्म गरेको सङ्घर्षकै पछिल्लो प्रतिनिधि पुस्ताका रुपमा आफुलाई उभ्याएका छन् । उनीहरुको यस्तो सुझबुझ र जिम्मेवारी बोधलाई हामी उच्च प्रशंसा गर्दछौँ र ऐक्यबद्धता प्रकट गर्दछौँ ।

आज हामी अस्थिरताका ठूला चुनौति र लोकतान्त्रिक भविष्यका ठूला सम्भावनाका बिचमा छौँ । राजनीतिक दलहरुमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरुको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन एउटा बाटो हो । दलहरुमा अलमल, पुरानै नेताहरुको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरुको बोलबाला, बाहिरी शक्तिहरुको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरुको पुनर्गठन आजको मुख्य शर्त हो । लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोश्रो÷तेश्रो तहका नेताहरु र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछौँ ।

अरविन्द सिंह अभिजित अधिकारी अशेष घिमिरे
उषाकिरण तिम्सेना करुणा पराजुली जटिल कार्की
जेबि विश्वकर्मा  नवीन तिवारी निराजन पौडेल
पासाङ डोल्मा प्रकाश देवकोटा प्रकाश पौडेल
प्रकाश श्रेष्ठ प्रतिक कार्की भरत महतारा
भावना घिमिरे भावना शाह ममता अधिकारी
महेश पाण्डेय राजेश राई राजेन्द्र परियार
राधिका परियार रोमश खतिवडा रोशन रिमाल
विराज थापा समकृती पुन सवल दाहाल सन्दिप पुन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *