छिनछिनमा बत्ती जाने समस्या तत्काल समाधान गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देशभरबाट आइरहेको छिनछिनमा बत्ती जाने समस्या तत्काल सम्बोधन गरी समाधान गर्न नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्दै मन्त्री घिसिङले उक्त गुनासो सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण, वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन र विद्युत् निर्यात लगायतका विषयमा जानकारी लिएका थिए ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा आवश्यक नीतिगत एवम् प्राविधिक सुधार का लागि छलफल गरी निर्देशनसमेत दिएको उनका सचिवालयले जनाएको छ ।
साथै, उनले बाढी पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउन, विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन निर्देशन दिए ।
आगामी हिउँदयामको विद्युत् व्यवस्थापनका लागि तयारीमा लाग्न र महत्त्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिन पनि प्राधिकरण व्यवस्थापनलाई उनले निर्देशन दिएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखेर काम भइरहेको जानकारी गराएका थिए ।
