इलाम पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या २८ पुग्यो, १२ भन्दा बढी बेपत्ता
इलामको देउमाई ४ मा पहिरोले पुर्याएको क्षति। तस्बिरः दीपक बुढाथोकी
विराटनगर। इलामका विभिन्न स्थानमा शनिबार राति गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। दर्जनौं घरमा क्षति पुगेको छ भने अझै धेरै मानिस बेपत्ता छन्।
जिल्ला प्रशासन कार्यालय इलामका अनुसार पहिरोका कारण १२ जनाभन्दा धेरै मानिस बेपत्ता छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा इलाम नगरपालिका–६, घोस: ६ जना, माइजोगमाई गाउँपालिका: ८ जना, सूर्योदय–१, मानेभञ्ज्याङ: ५ जना, माङसेबुङ गाउँपालिका–१, पाटीगाउँ: ३ जना
सन्दकपुर गाउँपालिका: ३ जना, देउमाई नगरपालिका: २ जना, फाकफोकथुम गाउँपालिका–१, रातमाटेका १ जना छन्।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पहिरोले जिल्लाभर दर्जनौं घरमा क्षति पुर्याएको जानकारी दिइन्।
पहिरो प्रभावित क्षेत्रबाट गम्भीर घाइतेहरूको हवाई उद्धार गरिएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार माङसेबुङ गाउँपालिका-१, गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते भएका एक गर्भवती महिला र एक पुरुषको उद्धार गरिएको हो।
