कोशी खतराको तह माथि : ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह

विराटनगर। सप्तकोशी नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ।

बहाव अत्यधिक बढेका कारण कोशी ब्यारेजका सबै ढोका खोलिएका छन्।

सशस्त्र प्रहरी बलको टोलीले नदी किनार आसपासका क्षेत्रमा माइकिङ गरिरहेको छ। ‘कोशी नदीको बहाव खतराको तह पार गरिसकेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनु होला,’ भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराइरहेको छ।

सशस्त्र प्रहरीका जवानहरूले कुनै समस्या वा असहजता भए तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न समेत आग्रह गरिरहेका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलका अनुसार बिहान ९ बजे नदीमा पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५ क्यूसेक मापन भएपछि ब्यारेजका सबै ढोका खोलिएको हो।

केही बेरअघि ब्यारेजमा गरिएको मापनअनुसार पानीको बहाव ५ लाख १० हजार ९६० पुगेको छ।

पानीको बहाव निरन्तर बढिरहेकोले ब्यारेजको पुलबाट आवतजावत गर्न पनि पूर्ण रूपमा रोक लगाइएको सीडीओ पोखरेलले जानकारी दिए।

यसको असरस्वरूप, कोशीमा बाढीको सम्भावना रहेको भन्दै भारतको बिहारस्थित सुपौल जिल्लाले समेत शनिबारदेखि नै उच्च सतर्कता अपनाइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *