सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। देशका धेरैजसो भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सरकारले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वर्षासँगै आउन सक्ने बाढी, पहिरो, डुबान लगायतका जोखिमप्रति सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७–८ बजेबाट आइतबार मध्यान्ह १२–१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागका महानिर्देशक कमलराम जोशीले हालको वर्षा प्रणाली बङ्गालको खाडीबाट भारतको उडिसा र झारखण्ड हुँदै नेपाल प्रवेश गरेको र यो सोमबार बिहानतिर पूर्वतर्फबाट बाहिरिने जानकारी दिएका छन्।

उनले यो वर्षको वर्षाको ढाँचा गएको वर्षको जस्तै भएकाले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन अत्यावश्यक रहेको बताए।

यसैबीच, सम्भावित जोखिमबारे छलफल गर्न शनिबार मन्त्रालयमा आयोजित समन्वय बैठकमा मन्त्री घिसिङले सम्बन्धित निकायका प्रमुखहरूलाई तयारी अवस्था बलियो बनाउन निर्देशन दिएका छन्।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक विजय जैसी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बराल, लगायतसँग छलफल भएको थियो।

सडक, सिँचाइ र जलविद्युत् आयोजनामा हुन सक्ने क्षतिलाई ध्यानमा राख्दै सबै कर्मचारी र प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

वर्षाले क्षति पुर्‍याउन सक्ने भन्दै नदी खोला किनारका उपकरणहरू सुरक्षित स्थानमा सार्न र जलविद्युत् आयोजनाको गेट सञ्चालनमा विशेष ध्यान दिन पनि निर्देशन दिइएको छ।

विपद्‌सम्बन्धी सूचनालाई सुरक्षा निकायहरूसँग नजिकको समन्वय गरी एकीकृत र समयमै सार्वजनिक गर्न पनि मन्त्री घिसिङले आग्रह गरेका छन्।

सडक विभाग र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकहरूले बाढी, पहिरो र डुबानका सम्भावित जोखिम कम गर्न आवश्यक पूर्वतयारी गरिएको जानकारी गराएका छन्।

सरकारले नागरिकहरूलाई मौसम सूचनामा ध्यान दिन, अनावश्यक यात्रा नगर्न र नदी खोला आसपासका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन बारम्बार आग्रह गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *