काठमाडौँसहित विभिन्न स्थानमा वर्षा : सतर्कता अपनाउन आह्वान
काठमाडौं । देशका अधिकांश भू-भागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ। बङ्गालको खाडीबाट आएको मनसुनी वायू र भारतको बिहार तथा उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गरेको बादलको प्रभावले मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालमा वर्षाको यो क्रम कम्तिमा असोज २० गतेसम्म जारी रहने पूर्वानुमान गरेको छ।
आज र भोलि भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यसका साथै, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा (अत्यधिक वर्षा) को समेत सम्भावना रहेको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा जारी रहने महाशाखाले जनाएको छ। हाल पानी पार्ने बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्मै पुगेको र खासगरी हेटौंडादेखि ललितपुर तथा आसपासमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ।
उच्च सतर्कता अपनाउन र यात्रा नगर्न आह्वान
अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको खतरा बढेको भन्दै सरकारले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
सकेसम्म लामो दुरीको यात्रा नगर्न सुझाव दिइएको छ। सडक विभागले विशेषगरी प्रमुख राजमार्गहरूमा जोखिम बढेको भन्दै रातिको समयमा यात्रामा रोक लगाएको छ। मुग्लिङ–नारायणगढ, मुग्लिङ–गोरखा, बीपी राजमार्ग, अरनिको राजमार्ग र त्रिभुवन राजपथ लगायतका सडकहरू अवरुद्ध हुन सक्ने भन्दै विभागले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
