सम्भावित मौसमी जोखिम : असोज २० गतेसम्म राति यात्रा नगर्न आग्रह

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज शुक्रबारदेखि असोज २० गतेसम्म काठमाडौं उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रुहरूलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीद्वारा जारी गरिएको जरुरी सूचनामा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा काठमाडौंमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख छ।

काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने सबै यात्रुहरूले रातको समयमा यात्रा नगर्न सूचनामा आग्रह गरिएको छ।

वर्षाका कारण जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो र भूक्षय जस्ता विपत्जन्य घटनाहरू घट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले यस्तो आग्रह गरेको हो।

अत्यन्त जरुरी नभई असोज २० गतेसम्म लामो दूरीको यात्रा नगर्न र आआफ्नो स्थानमा रही सतर्कता तथा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

विपद्को समयमा तत्काल कुनै उद्धार, सहयोग वा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न पनि सूचनामा भनिएको छ।

काठमाडौं उपत्यकामा आइतबारसम्म पानी पर्ने आँकलन गरिएको छ। त्यसपछि देशको पूर्वी क्षेत्रतिर पानी पार्ने प्रणाली सर्ने मौसमविदहरूले बताएका छन्।

कोशी प्रदेशमा आइतबार रातिसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। सोमबार बिहानदेखि भने देशभरको मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन बाहिरिन ढिलाइ

यसैबीच, यो वर्षको मनसुन बाहिरिने समय लम्बिएको छ। नेपालमा गत जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए।

वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हँदै जाने बताए। ुत्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ,ु उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *