देशभरका नदीमा जलसतह बढ्ने, आकस्मिक बाढीको जोखिम उच्च
फाइल तस्बिर
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन (शुक्रबार, शनिबार र आइतबार) देशका प्रमुख नदी तथा स-साना खोलाहरूमा जलसतह उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने चेतावनी दिएको छ।
शुक्रबार बिहान ८ बजे जारी बुलेटिनअनुसार हाल कोशी, नारायणी, कर्णाली र महाकाली लगायतका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी ७२ घण्टाभित्र जलसतहमा ठूलो वृद्धि हुने प्रक्षेपण गरिएको छ।
कोशी र नारायणी जलाधारका सुनकोशी, तमोर, त्रिशुली, कालीगण्डकी लगायतका सहायक नदीहरूमा आज (शुक्रबार) सामान्य वृद्धि हुने देखिए पनि शनिबार र आइतबार उल्लेख्य बढ्ने अनुमान गरिएको छ।
कर्णाली र महाकाली मा आज र भोलि सामान्य वृद्धि भए पनि आइतबारदेखि जलसतह उल्लेख्य बढ्ने प्रक्षेपण छ। कन्काई, कमला, बागमती, पूर्वी राप्ती र पश्चिम राप्ती लगायतका नदीहरूमा पनि आगामी तीन दिन उल्लेख्य जलसतह बढ्ने सम्भावना छ। बबई नदीमा भने भोलि र पर्सि ठूलो वृद्धि हुने जनाइएको छ।
देशभरका स-साना नदी र खोलाहरूमा आकस्मिक बाढीको जोखिम मध्यम रहने महाशाखाले जनाएको छ।
उच्च जोखिमका जिल्ला: ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बागलुङ, पाल्पा, सुर्खेत, बर्दिया लगायतका जिल्लामा बहने स-साना नदीमा आज (शुक्रबार) नै बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहने सम्भावना छ।
इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, कास्की, गुल्मी, रोल्पा, दैलेख, दार्चुला र कञ्चनपुर लगायतका जिल्लामा पनि आकस्मिक बाढीको जोखिम मध्यम रहने अनुमान छ।
शनिबार र आइतबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स-साना नदीहरूमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने चेतावनी महाशाखाले दिएको छ।
महाशाखाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई आगामी तीन दिन उच्च सतर्कता अपनाउन र नदीको बहाव निगरानी गरिरहन आग्रह गरेको छ।
