संवेदनाहीन तथा असंवेदनशील ओली
“एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा…” भन्ने गीतका शब्द प्रायः सबैलाई मन पर्छ। मायाले मात्रै होइन, एउटा मान्छेको हठले पनि जीवनमा फरक पार्दछ होला। तर, एउटा कुमान्छेको सत्तालिप्सासँगको हठले भने कस्तो विनाश निम्त्याउँछ भन्ने कुरा हामी अहिले देखिरहेका छौँ र भोगिरहेका छौँ। कम्तीमा पनि सुरक्षा निकायका प्रमुखहरूले सुझाव दिएका बेला (भदौ २४ गते बिहान १० बजे) तत्कालीन प्रधानमन्त्री केपी ओलीले पद त्याग गरिदिएको भए २४ गतेको विनाश यति विघ्न हुने थिएन। अझ अघिल्लो दिन गृहमन्त्रीले उनीसमक्ष आफ्नो राजीनामा पेस गर्दा ठन्डा दिमागले उनीहरूसँग सरसल्लाह गरेर उनले पनि पद त्याग गरेका भए २४ गते त सायद युवाहरूको विजय जुलुस मात्रै निस्कने थियो। मुलुकभर नयाँ उत्साहको लहर फैलिने थियो। तर, सत्ताको मात लागेका ओलीले परिस्थिति प्रतिकूल हुँदैछ भनेर सुनाउने आफ्ना सहयोगी र सुरक्षा प्रमुखहरूलाई उल्टै थर्काउँदै पठाइरहे।
यस सन्दर्भमा कान्तिपुर, अनलाइन खबर र सेतोपाटी लगायतमा प्रकाशित समाचारहरूलाई संयोजन गरी सिलसिलेवार रूपमा यो आलेख तयार गरिएको छ।
कान्तिपुरका अनुसार बाहिर विकसित भइरहेको अवस्थालाई मनन गरेर सुरक्षा प्रमुखहरूले ‘राजनीतिक निकास खोज्नुपर्यो’ भनेर प्रधानमन्त्री ओलीसमक्ष जाहेर गर्दा ओलीले भने, ‘राजनीतिक निकास भनेको राजीनामा हो? सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने? अनि प्रधानमन्त्रीले राजनीतिक निकास दिने? तपाईंहरूको परिभाषित जिम्मेवारी जे हो, त्यो पूरा गर्नुहोस्, स्थिति ठीक हुन्छ। म यहाँ कुर्सीमा ओगट्न होइन, राष्ट्रका चुनौतीहरू पूरा गर्नका लागि हो। तपाईंहरूले पनि त्यो पूरा गर्नुहोस्।’ त्यहाँ सहभागी एकजनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ओली कड्किएपछि सवालजवाफ हुँदा प्रधानमन्त्री र प्रधानसेनापतिबीचको संवाद केही असहजसमेत बनेको थियो। सोही समाचारअनुसार २४ गते दिउँसो १ बजे बालकोटस्थित ओलीको घरमा तोडफोड गरी आगो लगाइएको खबर सुनाएपछि मात्रै ओली राजीनामा दिन तयार भएका थिए।
कस्तो चित्त होला ओलीको, १९ जना निर्दोष र कलिला विद्यार्थीहरूको जीवन उनको मातहतमा रहेका प्रहरीले चलाएको गोली लागेर समाप्त भएको समाचार सुनेर पनि नझस्किने? भदौ २३ गते बेलुकी त्यस दिन घटेको घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिएँ भन्दा नै उनी झस्कनुपर्ने। उल्टै गृहमन्त्री लेखकलाई राजीनामा नगर्न सम्झाउँदा पनि नमानेपछि उनी भन्दै थिए रे, ‘मैले राजीनामा गरे पनि राजनीतिक रूपमा त मलाई सघाउनुहुन्छ नि?’
त्यसै बेला स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नहटाए आफूले पनि राजीनामा दिने भनिरहँदा समेत उनले परिस्थितिको गाम्भीर्य पटक्कै बुझेनन्। मन्त्री पौडेलसँग उनको सवालजवाफ नै परेको समाचारमा उल्लेख छ। समाचारअनुसार सामाजिक सञ्जाल एक्सले पठाएको पत्रको बेहोरा सुनाउँदै उनी कड्किए, ‘एउटा विदेशी व्यापारिक कम्पनीले तिम्रो देशमा भ्रष्टाचार छ, सुशासन छैन, पारदर्शिता छैन भन्दै दर्ता गर्न इन्कार गरेर पत्र पठाएको छ। हाम्रो स्वाभिमानमाथि आँच आउन दिन्न। हाम्रो नीति–नियमविपरीत व्यापार गर्न खोज्ने को हो त्यो? म जिउँदो हुँदासम्म यो सम्भव छैन।’
समाचारअनुसार भदौ २४ गते अपराह्न प्रधानमन्त्रीको हठबाट निराश सुरक्षा प्रमुखहरू प्रधानमन्त्रीको बैठक कक्षबाट बाहिर निस्केर आ-आफ्नो ‘च्यानल’बाट सडक प्रदर्शनको जानकारी लिन थाले। बाहिर स्थिति भयावह भइसक्यो भन्ने रिपोर्ट आइरहेको थियो। त्यसैले मुख्यसचिव र प्रधानसेनापतिले उप-प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसँग थप छलफल गरे। ‘प्रधानमन्त्रीले राजीनामा नदिने हो भने थाम्न सकिँदैन, तपाईंहरूले राजनीतिक पहल गर्नुपर्यो’ भनेर सेनापतिले दोहोर्याए। तर, ओलीसँग गएर राजीनामाको सुझाव दिन उनकै उप-प्रधानमन्त्री र सल्लाहकार पनि हिचकिचाइरहेका थिए। यस समाचार अंशबाट थाहा हुन्छ, उप-प्रधानमन्त्री विष्णु पौडेल र उनका सल्लाहकार विष्णु रिमाल ओलीबाट कति दमित भएर बसेका रहेछन्। हैट, यस्तो अपमान सहेर मन्त्री हुनुभन्दा त स्वतन्त्र व्यवसाय गरेर बाँच्नु नि! उनीहरूभन्दा तलका अरूको त के कुरा गर्नु! नेकपा एमालेमा आन्तरिक प्रजातन्त्रको अवस्था हेर्नुस् त! साथीहरू अघिपछि भन्ने गर्थे, ‘आन्तरिक लोकतन्त्रमा एमाले अरू सबै पार्टीभन्दा अब्बल छ।’ अब्बल हुँदा यस्तो छ, दोयम हुँदा कस्तो होला?
कान्तिपुरका अनुसार सडकमा प्रदर्शन नियन्त्रणबाहिर थियो। व्यक्ति-व्यक्तिका घर, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भइरहेको थियो। प्रहरी कार्यालयहरू सबैतिर जलिरहेका थिए। होटलमा आगलागी भइरहेको थियो। तर, उता ओली भने बेलुका ६ बजेका लागि ‘सर्वदलीय बैठक’ बोलाएर ढुक्कसँग बसेका थिए। उनी स्थिति आफ्नै नियन्त्रणमा हुन्छ भन्ने मनस्थितिमा रहेको देखिन्थ्यो।
समाचार अगाडि भन्छ, “त्यही बेला ओलीको बालकोटस्थित निजी घरमा पनि आगजनी भएको खबर आइपुग्यो। बाहिर तोडफोड, आगजनी र लुटपाटको घटना तीव्र रूपमा बढ्दै गएको रिपोर्ट आइरहेको थियो। प्रधानसेनापति सिग्देलले फेरि बैठक कक्षमा छिरेर ओलीले राजीनामा दिनैपर्ने, अन्यथा कसैले पनि सुरक्षाको जिम्मा लिन नसक्ने चेतावनी दिए। ओली भने उल्टै ‘जिम्मेवारी पूरा गर्न नसकेको’ भन्दै सुरक्षा संयन्त्रप्रति क्रुद्ध बने। आखिरमा अर्थमन्त्री पौडेल पुनः भित्र छिरेर ओलीसँग छुट्टै कुराकानी गर्न थाले।”
अहिले कति मानिस भनिरहेका छन्, त्यत्रो विनाश हुँदा पनि सेनाले किन कमान्ड सम्हालेन? सेनाले नै पहरा दिएको सिंहदरबार र राष्ट्रपति कार्यालयसमेत सेनाले किन जोगाउन सकेन? तर, सेना सायद ओली सरकारको आदेशमा अगाडि बढ्न चाहिरहेको थिएन किनभने ओलीको आनीबानी तिनलाई थाहा थियो। भोलि केही अनर्थ भइहाल्यो भने ओलीले सजिलै भन्न सक्थे- ‘सरकारलाई नसोधी सेनाले त्यसो गरेछ,’ जस्तो अहिले प्रहरीलाई ‘गोली चलाउने आदेश थिएन’ भनिरहेका छन्। त्यस्तो अपजस थाप्न सेना तयार थिएन होला।
अनलाइन खबरका अनुसार प्रधानमन्त्री निवास बालुवाटारको “तीन नम्बर गेट तोडेर पार्किङसम्म पुगेका प्रदर्शनकारीहरूले सवारीसाधनमा आगो लगाउन थालिसकेका थिए, २ नम्बर गेट हल्लिसकेको थियो। एक नम्बर गेटबाहिर पनि प्रदर्शनकारीहरूको ठूलो भीड जम्मा भइसकेको थियो।”
त्यसपछि भने ओलीको पसिना फुट्यो। मुख सुक्यो। बाहिरको हल्ला यमराजको स्वरजस्तो सुनियो होला। समाचारअनुसार अनि मात्रै “उनले नेपाली सेनासँग सुरक्षा मागे। प्रधानसेनापति सिग्देलले उही कुरा दोहोर्याए- ‘पहिले राजीनामा आओस् अनि बल्ल सुरक्षाको प्रत्याभूति हुन्छ।’”
समाचारअनुसार ओलीसँग एकान्तमा मन्त्रणा गरेर “केहीबेरमा बाहिर निस्केर पौडेलले सुरक्षा अधिकारीहरूलाई भने, ‘ल अब प्रधानमन्त्रीको राजीनामा आउँछ, बाहिरको परिस्थिति नियन्त्रणमा राख्नुहोला।’ पौडेल, रिमाल, ज्ञवालीका साथै मुख्यसचिव र प्रधानसेनापति बसेर प्रधानमन्त्रीको राजीनामा पत्रको मस्यौदा तयार भयो।”
समाचार अगाडि भन्छ, दिउँसो करिब सवा २ बजेतिर ‘भाग्नुपर्ने भएपछि बल्ल प्रधानमन्त्रीले राजीनामा दिनुभयो। जननिर्वाचित संसद्बाट निर्वाचित प्रधानमन्त्रीले आफ्नो राजीनामा पनि राष्ट्रपतिलाई बुझाउन सक्नुभएन। आर्मीमार्फत बुझाउनुपर्यो,’ त्यस दिनको घटनाबारे व्याख्या गर्दै एमालेका एक नेताले भने, ‘नेपाली राजनीतिमा विरलै हुने घटना हामीले भोग्यौँ।’
अर्को समाचारअनुसार ओलीको राजीनामा स्वीकृत भएपछि नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रधानमन्त्री निवास बालुवाटारमा अवतरण भए। पहिलो हेलिकप्टरमा ओली, उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका एमाले उपमहासचिव विष्णु रिमाल चढेर शिवपुरी गए। दोस्रोमा चारवटै सुरक्षा निकायका प्रमुखहरू चढेर सेनाको हेडक्वार्टर फर्किए।
समाचारअनुसार जतिसुकै राष्ट्रवादका कुरा गरे पनि “देश र जनता पनि अप्ठ्यारोमा परेका बेला त आफू र आफ्नै परिवारको मात्रै चिन्ता हुने रहेछ नि! त्यस्तो बेलामा हेलिकप्टर मगाएर आफू, आफ्नी पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव राजेश बज्राचार्यलाई लिएर उहाँ जानुभएछ, त्यहीँ भएका अरू नेताहरूको सुरक्षाबारे एकपटक चासो पनि राख्नुभएनछ,’ एमालेका ती नेता भन्छन्, ‘अध्यक्ष संवेदनाहीन हुनुहुन्छ भन्ने त बेलाबेला भोगिएकै थियो, तर यति असंवेदनशील हुनुहुन्छ भन्ने सोचिएको थिएन।’ यसरी ओलीले चम्पट कसेपछि बालुवाटारमै रहेका विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली बिलखबन्दमा परे।
समाचारअनुसार उनीहरू भित्री बाटोबाटै भागेर प्रधानमन्त्री निवासको छेवैमा रहेको सभामुख निवास पुगे। त्यहाँ सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल थिए। त्यही बेला सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई लिन नेपाल प्रहरीको २ वटा गाडी सभामुख निवास बालुवाटार आइपुगे।
उनीहरू पनि प्रहरीको त्यही गाडीमा चढेर प्रहरी प्रधान कार्यालय नक्सालतिर सोझिए। तर, बालुवाटारबाट नक्साल पुग्दा बाटोमा पर्ने वर्णबास होटेल तोडफोड गर्न प्रदर्शनकारीहरू भेला भइसकेका थिए। प्रहरीले फेरि गाडी फर्काएर सभामुख निवासमै ल्यायो। केहीबेरमा प्रदर्शनकारीहरू त्यहाँबाट हिँडेको थाहा पाएपछि बल्ल प्रहरीले यी नेताहरूलाई उद्धार गरेर प्रहरी प्रधान कार्यालय पुर्यायो।
समाचार भन्छ, अहिले एमाले नेताहरूले ‘जेनजी आन्दोलनभन्दा पनि प्रतिक्रियावादीहरूको षड्यन्त्रका कारण २३ र २४ गतेको घटना भएको हो’ भनिरहेका छन्। घटनाको पछाडि ओलीलाई कारक मान्न नहुने तर्क उनीहरूको छ।
सरकारकै अराजकताले राज्यमाथि जनताको भरोसा भासिएको हो भन्ने स्वीकार गर्न उनीहरू तयार छैनन्। बुधबार संविधान दिवस मनाउने तयारीका लागि भन्दै बोलाइएको विभागहरू र जनवर्गीय सङ्गठनहरूको बैठकमा महासचिव शंकर पोखरेलले यसको स्पष्ट सङ्केत गरिसकेका छन्।
‘बाहिर मान्छे आए ढुङ्गामुढा गरे, पुलिसले गोली चलायो। प्रधानमन्त्रीको यसमा कुनै पनि गल्ती छैन,’ महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सङ्कटका बेला कुनै पनि नयाँ विषयमा प्रवेश गर्नुहुन्न। वाद हुन्छ, प्रतिवाद हुन्छ, यसले त झन् पार्टीलाई विघटनतिर लान्छ।’ ल हेर्नुस् पार्टीका दोस्रो तहका नेताको पार्टीको आन्तरिक लोकतन्त्रप्रतिको धारणा!
दश दिनजति सेनाको ब्यारेकमा सुरक्षित बसेर बाहिर निस्किएपछि ओली भन्दै छन् रे, ‘प्रदर्शनकारीमाथि गोली चलाउने स्वचालित हतियार र गोली त प्रहरीसँग थिएन। त्यो कहाँबाट आयो?’ अहिलेसम्म स्वचालित हतियार चलाइएको समाचार कतै आएको छैन। सेना ब्यारेकमा गुप्तवास बसेका ओलीले कसरी थाहा पाए त्यो कुरा? कतै ओली स्वयंले आफ्नो सत्ता लम्ब्याउन त्यसको गुप्त व्यवस्था त गरेका थिएनन्? आखिर ओलीका लागि मान्छे मार्नु नयाँ र नौलो होइन। गत चैतमा तीनकुनेमा मान्छे मारेर छाडियो, कुनै न्यायिक छानबिनसमेत गरिएन। यसपालि पनि त्यसै गर्ने योजना थियो होला तर त्यो तुहिन पुग्यो।
