जनअपेक्षाको सम्बोधन र भविष्यको मार्गचित्र
हामीले अरूको आवाज समयमा नै सुन्न वा बुझ्न सकेनौँ। हाम्रा नेताले पनि समयमै हाम्रो आवाज सुन्न चाहेनन्, वा हामीले उहाँहरूलाई सुनाउन सकेनौँ। हरेक परिवर्तन केवल सत्ता प्राप्तिमा केन्द्रित भयो। शक्ति निर्माण गर्नमा भन्दा शक्तिको दुरुपयोगमा ध्यान गयो।
परिवर्तनले जनताको मुहारमा कुनै परिवर्तन ल्याउन सकेन। जनअपेक्षालाई उचित सम्बोधन गर्न नसक्दा भ्रष्टाचारले जरा गाड्यो। हामीले जरा उखेल्नुको सट्टा मलजल गर्नतिर लाग्यौँ। विधिभन्दा व्यक्तिलाई, नीतिभन्दा नेतालाई, प्रवृत्तिभन्दा पात्रलाई, चरित्रभन्दा चित्रलाई, संस्कारभन्दा भौतिक शक्तिलाई, सोचभन्दा स्रोतलाई, चालभन्दा चेहरालाई, संस्थाभन्दा स्वार्थलाई, भविष्यभन्दा वर्तमानलाई, र आचरणभन्दा आवरणलाई मन पराउने बानी भयो। पराक्रमलाई भन्दा परिक्रमालाई महत्त्व दिने आदत बस्यो।
पद, सत्ता, शक्ति र सम्पत्ति नै सबै थोक हो भन्ने लोभी सोच हावी भयो। न्याय हरायो। हामीले पुस्तान्तरण र पुस्ताहस्तान्तरणबीचको अन्तर र सम्बन्ध छुट्याउन सकेनौँ। जेन-जीको भावना र जेन एक्स/वाइको व्यवहारबीच सन्तुलन रहेन। विवेकलाई धरौटी राखेर बललाई प्रधानता दियौँ। परम्परागत सोच र ढर्राले हामीलाई छोडेन। मानव विकासक्रमको गति र मनोविज्ञानलाई बुझ्न सकेनौँ।
आन्दोलन गर्न हामी खप्पिस थियौँ, तर त्यसपछिको व्यवस्थापन गर्न सकेनौँ। भएका थोरै राम्रा कामलाई पनि अनगिन्ती अनियमितता र विसंगतिले थिचिदियो। क्षणिक लाभ वा स्वार्थले व्यक्ति र समूहलाई केन्द्रित बनायो, जसको परिणाम असन्तुष्टि, आक्रोश र वितृष्णामा बदलियो। अन्ततः यो परिस्थिति हाम्रो सामु उभियो।
आत्म समीक्षाको समय
अब नियत वा नियतिले हामीलाई पाठ सिक्न बाध्य बनाएको छ। सबैका आ-आफ्ना ठाउँबाट गल्ती भएका छन्। हामीले सबैको विगत राम्ररी हेरेका छौँ, चिनेका छौँ। नचिने जस्तो वा नजाने जस्तो गर्नु केवल अभिनय वा ढाकछोप मात्र हो। धेरै आडम्बरी कुरा अब टिक्दैनन्।
हरेक संघर्ष, क्रान्ति वा आन्दोलनपछि त्यसको औचित्य प्रमाणित गर्न परिणाम हेर्नै पर्छ। आन्दोलन कति वैधानिक वा कानुनी थियो भन्ने बहस हुन सक्छ, तर कानुन मात्र हेरेर आन्दोलन हुँदैन। त्यसको निरूपण समयले आफै गर्ला।
अहिले चाहिँ आत्मालोचना, आत्म समीक्षा र आत्मचेतको समय हो। विगतका त्रुटीहरूप्रति पश्चाताप गर्ने बेला हो। आ-आफ्नो जिम्मेवारी र कर्मअनुसारका गल्तीमा माफी माग्नै पर्छ। आदर्शका कुरा, आग्रह र उपदेशका कुरामा जनविश्वास गुमेको छ। विगतका सबै गतिविधिको पुस्तकका पाना पन्ना पढेको नयाँ पुस्ताले पुरानो पुस्तामाथि विश्वास गर्न सकिरहेको छैन। गुमेको विश्वास पुन: आर्जन गर्न सजिलो छैन। अब कर्मबाट प्रमाणित गर्नु छ कि हामी सच्चिन्छौँ, सच्चिएर आउँछौँ र विगतको तीतो सत्य दोहोरिन दिँदैनौँ।
धेरै मनहरू रोएका छन्, धेरै आँखा भिजिरहेका छन्। आकाश धमिलो छ, जमिन उजाड देखिन्छ। यतिबेला मानवीय संवेदनशीलताको खाँचो छ।
अब सद्भाव, सह-अस्तित्व र साहसको बेला आएको छ। मन, वचन र कर्मले यसलाई पुष्टि गर्नु छ। उद्रेर होइन, सुध्रिएर; बदला लिएर होइन, बदलिएर; भाँचिएर होइन, गाँसिएर सँगै बढौँ। जेन-जीमा भएको सिर्जनशीलता, तीक्ष्णता र भ्रष्टाचारमुक्त समाजको अपेक्षासँग जेन एक्स/वाइमा भएका सकारात्मक अनुभवको साझेदारीमा मन र हातहरू मिलाऔँ।
व्यवस्था आफैमा दोषी हुँदैन, अव्यवस्था नै समस्या हो। बहुदलीय संसदीय व्यवस्थाबाटै देशको मुहार फेर्न सकिन्छ। यस व्यवस्थाको जग नै राजनीतिक दल हुन्। आफूभित्रका विसंगति र विकृतिलाई हटाएर दलहरूलाई संस्थागत, विधि र विधानसम्मत गतिशील बनाउन सक्यौँ भने भविष्य त्यति अँध्यारो छैन। अब सिद्धिन बाँकी छैन, सच्चिन मात्र विकल्प छ। दलमा आन्तरिक पुनर्गठन र रूपान्तरण जरुरी छ। सबै गम्भीर हुन आवश्यक छ। राजनीतिक दल र नेतृत्वले केवल शब्द र नारामा होइन, नवीन कार्यशैलीमा अगाडि बढ्नै पर्छ।
देश हाम्रो हो, हामीले नै बनाउने हो। सबै पुस्ता जुटौँ, अघि बढौँ।
सुनिश्चित र सुन्दर भविष्यको सपना बोकेर आन्दोलनमा उत्रिएर सहादत प्राप्त गर्ने सबै दाजुभाइ तथा दिदीबहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। शोकाकुल सबैमा गहिरो समवेदना।
