८ दलका सचेतकले भने, ‘संसद विघटनको निर्णय फिर्ता होस्’

काठमाडौं। प्रमुख ८ राजनीतिक दलले संसद विघटनको विरोध गर्दै तत्काल उक्त निर्णय फिर्ता लिन माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका प्रमुख सचेतकहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेका छन्।

विज्ञप्तिमा भनिएको छ- ‘भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद विघटनसम्बन्धी सूचना नेपालको संविधान, सर्वोच्च अदालतको नजीर र संवैधानिक परम्पराविपरीत छ।’

दलहरूले जननिर्वाचित संस्थामाथि गरिएको यो प्रहारले लोकतान्त्रिक मूल्य-मान्यता र संवैधानिक सर्वोच्चतालाई कमजोर पार्ने बताएका छन्। उनीहरूले संविधान र कानूनी व्यवस्थाबाटै समस्याको समाधान निस्कन्छ भन्नेमा आफ्नो विश्वास रहेको जनाउँदै संसद विघटनको निर्णय तत्काल फिर्ता लिई संसदको बैठक बोलाउनुपर्ने माग गरेका छन्।

विज्ञप्तिमा जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने उल्लेख छ। दलहरूले आन्दोलनरत समूहको मागलाई पनि संसदबाटै सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञप्तिमा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, जसपाका बिरेन्द्र प्रसाद महतो, एकीकृत समाजवादीका मेटमणी चौधरी, लोसपाका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीकी अनिता देवीको हस्ताक्षर छ।

यसैबीच, ८ दलले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। उनीहरूले आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *