समयले पर्खन्न है, राजाकाजीहरू
आज अत्यन्त कुँडिएको मन लिएर यी हरफ लेखिरहेछु। नलेख्दा पनि हुन्थ्यो, तर के गर्नु हजुर, लेख्ने लत बस्यो। मनमस्तिष्कमा चल्ने आँधीबेहरी बिसाउने ठाउँ भएन भने मनभित्रै कुण्ठा जम्छ र मनोरोगले समाउँछ भन्छ मनोविज्ञानले। समरसेट ममले भन्थे रे, ‘म मनको बोझ बिसाउन लेख्छु।’ म पनि यसै गर्छु। ममको उदाहरण दिँदा आफूलाई कति माथि राख्न खोजेको भन्ने आरोप लाग्ला, तर मनमा बिझेको कुरा नगरी खोक्रो गन्थनमा तेल घसेर मलाई नेता बन्नु छैन।
गएको सोमबार सत्तालिप्सामा लिप्त देशद्रोहीहरूले आफ्नो भ्रष्ट सत्ता अकण्टक राख्ने दुस्स्वप्न बचाइराख्नका लागि मसिना भाइबहिनीमाथि गोली वर्षाउन लगाएर तिनको जीवन चुँडेको समाचार सुनेयता आफ्नो जिजीविषा ओइलाएजस्तो अनुभव भइरहेको छ। त्यस भोलिपल्टको विनाश लीला देखेर कहाली लागिरहेको छ। कठै मेरो देश! यो महाअपराधमा संलग्नहरू भोलिका दिनमा नाङ्गिँदै जानेछन्। त्यस बारेमा अहिले यति मात्रै भनौं।
लामो समयदेखि राजनीति राजनीति नरहेर सत्ता लुछाचुँडीको फोहोरी खेल बन्दै जान थालेपछि चिया पसलतिर साथीभाइसँगको भेटघाटमा हुने गफगाफमा यही विषय प्रमुखताका साथ उठ्ने गर्थ्यो। प्राकृतिक स्रोतसाधनले सम्पन्न यति सुन्दर देश आर्थिक तथा भौतिक रूपमा समृद्ध बन्न नसक्नुको कारण राजनीतिक दलहरूको सत्तालोलुपता, नातावाद, सर्वत्र दलीयकरण र भ्रष्टाचार हो भन्नेमा सबैको एक मत देखिन्थ्यो। मानिसमा राजनीतिप्रति नै एक प्रकारको वितृष्णा भरिँदै गइरहेको थियो।
तर राजनीतिको विकल्प त छैन, न राजनीतिमा लोकतन्त्रको नै विकल्प छ। त्यसकारण राजनीति हाँक्नेहरूले सुध्रिनुपर्छ अन्यथा नयाँ पुस्ताले तिनीहरूलाई विस्थापित गरिदिन्छ भन्ने कुरामा आफू विश्वस्त भएको कुरा साथीहरू समक्ष राख्ने गरिन्थ्यो। दलहरूमा आबद्ध साथीहरूमा पनि व्यापक असन्तुष्टि र निराशा देखिन्थ्यो, तर किन हो उनीहरू त्यसलाई आफ्नो संगठनभित्र राख्ने आँट गर्न सक्दैन थिए।
प्रजातन्त्रमा आम मानिसले आफ्नो अभिमत जाहेर गर्ने मुख्य अवसर निर्वाचन हो। आफू सम्बद्ध दल तथा त्यसको नेतृत्वप्रति असन्तुष्ट तथा रुष्ट युवा समेत निर्वाचनका समयमा त्यही दल र तिनै नेतालाई भोट माग्न झोला बोकेर गाउँ पस्थे। गाइँगुइँ चल्थ्यो, ‘मोटै रकम भेट्यो नि त!’ तर उनीहरू भन्थे, ‘के गर्नु, सुरुदेखि यसैमा लागियो। अर्कोतिर जाउँ, त्यता पनि उही रोग छ। साथीभाइ छाडेर एकलकाँटे बन्न पनि त भएन!’
व्यक्तिगत भेटघाटमा दलको नेतृत्वतिर उक्लँदै गरेका युवाहरू भन्थे, ‘के गर्नु, सबै कुरा देखिएको छ नि, मुख बाऔं धरातलमुनि पुर्याइदिन्छन्। विद्यार्थी जीवनबाटै राजनीतिमा कुदियो, अब अर्थोक गरौं के गर्ने र? दुनियाँ हँसाउनु त भएन!’
यो एक व्यक्ति वा एक ठाउँको मात्रै कुरा होइन, देशैभरिको कुरा हो। यसो हुनाको कारण राजनीतिलाई नबुझी परिस्थितिवश वा लहैलहैमा मानिसको राजनीतिमा प्रवेश हो। पुरानो पुस्ता विद्यार्थीकालबाटै पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्यो। म स्वयं त्यसरी नै लागेको रहेछु भन्ने पछि थाहा भयो। पछि आएर कुरा बुझेपछि आफू संलग्न संगठन वा दल ठीक नभएको अनुभूति भए पनि मानिसले त्यसलाई छाड्ने वा त्याग्ने आँट गर्न सकेनन्। एक प्रकारले धर्म मानेजस्तो। यो वा त्यो धार्मिक सम्प्रदायमा लागेर बुरुकबुरुक उफ्रिने र यो वा त्यो दलका नेताको झोला बोक्नेको ज्ञान वा चेतनाको स्तर उस्तै देखिन्छ।
आफूलाई कम्युनिस्ट मान्नेहरूले त एकताका ज्ञानको ढोका नै बन्द गर्ने अभियान चलाए। ‘बुर्जुवा शिक्षा पढेर काम छैन’ भनेर सर्वसाधारणका सन्तानको पढाइ छुटाइदिए। पछिल्लो समय आफूलाई माओवादी भन्नेहरूले विद्यार्थीलाई जबर्जस्ती कक्षा कोठाबाट उठाएर जनसेना बनाए। नेताहरूले तिनले भन्ने जनक्रान्ति बिसाएपछि ती जनसेनाको बिजोग हामीले देखिरहेका छौं।
यसरी पार्टीहरूले पूर्णकालीन सदस्य बनाएका साधारण परिवारका मानिस खास पेसा वा व्यवसायमा लाग्न सकेनन् किनभने न उनीहरूसँग सीप थियो न लगानी गर्ने सानोतिनो पुँजी। उनीहरू राजनीति गर्न नेतामाथि आश्रित भए। तिनलाई पाल्नलाई समेत नेताले कमाउनुपर्यो। यसैको परिणाम हो, निर्वाचन खर्चिलो हुँदै जानु। यही पद्धतिमा सामान्य मानिस वडा सदस्यको उम्मेदवार समेत बन्न सक्दैन, पैसाको अभावमा। कि पैसा हुनुपर्यो कि झोला बोक्नुपर्यो।
लामो रस्साकस्सीपछि बनाइएको संविधान ‘दिनभरिको सिकार, कसको अनुहार’ भनेजस्तो छ— कुनै एक दलले संसद्मा बहुमत ल्याउनै नसक्ने व्यवस्था भएको। यसले मिलिजुली सरकार र मिलिजुली भोजलाई प्रेरित गर्यो। यसले पनि दलका शीर्ष नेताहरूको भ्रष्टीकरणमा मद्दत गर्यो। नेतालाई भ्रष्ट हुन ज्योतिषीले समेत सघाए। शेरबहादुर देउवालाई ‘सात पटक प्रधानमन्त्री बन्छौ’ भन्नुको सट्टा ‘अब तिम्रो सत्तामा जाने योग छँदैछैन’ भनिदिएको भए उनमा ओली जस्ता छुद्र मानिसका साथ टिम बनाउने रहरमा रोक लाग्ने थियो कि!
राजनीति मात्रै होइन, समाज नै भ्रष्ट हुँदै गइरहेको छ। ससुरालीमा सासूले, ‘खै, कान्छा ज्वाइँले सुब्बाको जागिरबाट काठमाडौंमा दुई-दुई घर बनाइसक्नुभयो। ठूला ज्वाइँ सेक्सनअफिसर भएको दश वर्ष बित्न लाग्दा पनि भाडाकै घरमा बस्नुहुन्छ…’ भने जस्ता घोचपेच सुनेर मन कुँडाउनेहरूको व्यथालाई कसले छामेर हेरिदिने र?
यसो भन्दा लैङ्गिक विभेदको कुरा गरेजस्तो सुनिएला, तर निकै नेताहरूलाई जीवनसाथीले समेत भ्रष्ट हुन सघाएको कथा सुनिन्छ। सुशीला कोइरालाको योगदान कति होला बीपीको व्यक्तित्वमा भनेर कसैले हेरेको होला र? वा चित्रबहादुर केसीको? यस विषयलाई यहाँभन्दा धेर नखोदलौं।
मुलुकमा भएको गरिबी समेत भ्रष्टाचारको एउटा कारण हो। ‘चप्पल लगाएका नेता पजेरोमा’ भनेर फलाक्ने धेरै छौं। हो, सांसद हुनुपूर्व चप्पलमै थिए, तर सांसद भएर काठमाडौंमा निर्वाह गर्न राज्यले दिएको सुविधाले पुग्छ र? अभावग्रस्त नेतालाई बिचौलियाले कज्याउनाको मुख्य कारण यही हो। कान्छो छोरो शशाङ्कले बिहेमा एक जोर सूट त चाहिन्छ भन्दा आफ्ना पुराना कोटमध्ये एउटा छानेर लगा न भन्ने बीपी कोइरालाको जस्तो नैतिक शक्ति आजका नेतामा छ र? त्यस्ताको इज्जत हुन्छ यो समाजमा र?
एक आम निर्वाचनमा मैले एक सज्जनलाई प्रश्न गरें, ‘तिमी जस्तो मानिसले पनि त्यस्तालाई किन भोट मागिहिँडेको र?’ उनको सहज उत्तर थियो, ‘यो चोरले काठमाडौंमा घर जोडिसक्यो। दुई-दुईवटा गाडी छन्। नानीहरू पढेर विदेश लागे। उनीहरू आफैं कमाउँछन्। यसलाई अब नपुग्दो केही छैन। त्यसैले सानोतिनो कुरामा राल चुहाउँदैन र आफ्ना ठाउँका लागि केही गर्छ कि भनेर हो। अर्को त्यो राम्रो देखिन्छ नि, त्यसले त पहिले आफूलाई बनाउनुपर्छ। त्यतिञ्जेल त म बाँच्दिनँ।’ तिनले ठट्ट्यौलो पाराले भनेको यो कुरामा व्यवहारिक सत्य कति होला र?
हो, यस्तै-यस्तै कारणले मलाई यी साविकका नेतासँग आस थिएन र मेरो दृष्टि नयाँ पुस्तातिर केन्द्रित थियो। म साथीहरूसँग हिजोअस्तिसम्म भन्ने गर्थें, ‘अबको तेस्रो संसद् काम गर्न सक्षम युवाहरूले भरिन्छ। कर्मठ पुस्ता आउँदै छ। त्यसकारण धैर्य गर्नुपर्छ।’
मेरो विश्लेषण थियो, ‘नयाँ पुस्तामा राजनीतिमा चाख नभएजस्तो देखिन्छ, तर चाख नभएको होइन, रुचि नभएको हो। उनीहरू सोच्दछन्, राजनीति गर्न पैसा चाहिन्छ। म पहिले केही न केही व्यवसाय गरेर पैसा कमाउँछु र त्यसपछि राजनीतिमा लाग्छु। अहिल्यै राजनीतिमा गएँ भने झोले नै हुनुपर्छ।’
दश-पन्ध्र वर्षपछि यस्तो पुस्ता राजनीतिमा आउँछ भन्ने विश्वास छ मलाई। पुगीसरी आएको मानिसले अब अपराधै गर्छु भनेर मात्रै भ्रष्टाचार गर्छ। कंगालले जीवन धान्नै भ्रष्टाचार गर्नुपर्छ। पशुपति शमशेरले भ्रष्टाचार गरेको सुनिँदैन। कसैलाई मन परोस् या नपरोस्, रास्वपाबाट सांसद भएका सबैजसोको कुनै न कुनै व्यवसाय छ। सीप छ, दक्षता छ। आर्थिक कारणले उनीहरूका सानातिना प्रयास र पहल रोकिँदैनन्। त्यसैले उनीहरूमा ‘गरेर देखाउँछु’ भन्ने संकल्प छ।
बीपी कोइरालाको ११२औं जन्मजयन्ती पारेर मैले राइजिङ नेपालमा एउटा लेख लेखेको छु। त्यो गत २४ गते प्रकाशित छ। त्यो लेख मैले महिना दिनअघि लेखेको हो। मैले त्यसमा जेनेरेसन अल्फालाई मुलुकको राजनीति हाँक्न तयार हुनुपर्छ भनेर आह्वान गरेको छु। जेनेरेसन अल्फा सन् २०१३ पछि जन्मिएको पुस्ता हो अर्थात् त्यसको जेठो सदस्य हाल बाह्र वर्षको हाराहारीमा छ।
तर मैले अपेक्षा गरेकोभन्दा अघिल्लै पुस्ताले भ्याइदियो। यो अलि चाँडै भएकाले उसले थालेको क्रान्तिलाई उसले आफ्नो नियन्त्रणमा राख्न सकेन। उसको क्रान्तिको अभियान अपहरणमा पर्यो। आफ्नो क्रान्ति अभियानमा उसले पुरानै पुस्ताको मुख ताक्नुपर्यो। अर्को पुस्ताले नेतृत्व पैंचो खोज्नु पर्दैन।
त्यसैले खान पल्केकाहरू संविधानको रक्षाको नाम जप्दै नयाँ पुस्ताको भावनालाई घेराबन्दी गर्न जुर्मुरिइरहेका छन्। तिनका नाइकेले आफ्नो स्वार्थअनुरूप विधान परिवर्तन गर्दा चुइँक्क गर्न नसक्नेहरूलाई संविधान फेरिन्छ कि भन्ने चिन्ता छ। देश लुट्न समेत मार्ग प्रशस्त गर्ने संविधानमा आवश्यकताअनुसार परिवर्तन नगरे के गर्ने त?
संविधानलाई अक्षरशः पालन गर्ने हो भने त अहिलेको सरकारै बन्न सक्दैन। सरकार बनाउन खरानी खोस्रेर ओली र देउवा ल्याउन नयाँ पुस्ता तयार हुनुपर्ने हो र? अन्यथा म मुलुकका लागि गर्छु भनेर जुर्मुरिइरहेको पुराना पुस्ताकाले समेत समयको चापअनुसार चल्न सिक्नैपर्छ। समयको आफ्नै गति हुन्छ। त्यसले कसैलाई पर्खेर बसिरहन मान्दैन।
