वकालतदेखि प्रधानन्यायाधीश हुँदै पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ। नेपालको न्यायपालिकाको इतिहासमा सुशीला कार्कीको नाम विशेष स्थानमा आउँछ। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्, जसले आफ्नो साहस र निडरताका कारण निकै चर्चा कमाइन्।

कार्कीको जन्म सन् २००९ मा विराटनगरको शंकरपुरमा भएको थियो। बुवा डिल्लीराम कार्की र आमा लिलादेवी कार्कीकी जेठी सन्तानका रूपमा जन्मिएकी उनले विराटनगरको जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन्।

त्यसपछि उनले विराटनगरकै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट आईए र बीए गरिन्। त्यसपछि भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरिन्।

सुशीलाले आफ्नो वकालत पेसा २०३५ सालदेखि धरानमा आफ्ना ठूलोबुबा तोरणबहादुर कार्कीको ल फर्मबाट सुरु गरिन्।

उनको विवाह २०४३–४४ सालतिर तत्कालीन कांग्रेसी नेता दुर्गा सुवेदीसँग भयो। दुर्गा सुवेदी २०३० सालमा भएको विमान अपहरणका एक प्रमुख व्यक्ति थिए। सुशीला र दुर्गाका एक मात्र छोरा प्रशान्त हाल बेलायतमा बस्छन्।

सुशीलाले २०४६ सालको जनआन्दोलनमा कांग्रेसी मोर्चाबाट सक्रिय सहभागिता जनाइन्। यस क्रममा उनी पक्राउ पनि परिन्। २०६२–६३ को जनआन्दोलनमा पनि उनले सशक्त भूमिका निर्वाह गरिन्।

२०५८–५९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरिन् भने २०६५मा सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त भइन्। २०७३ नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर उनले इतिहास बनाइन्।

प्रधानन्यायाधीशको रूपमा उनले भ्रष्टाचार, ठूला ठेक्का र प्रशासनिक अनियमितता जस्ता मुद्दामा कठोर फैसलाहरू सुनाइन्। उनले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा समेत सरकारको निर्णय उल्टाइन्।

सरकारको निर्णय उल्ट्याएपछि २०७४ साल वैशाख १७ गते नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले उनीमाथि महाभियोग प्रस्ताव दर्ता गराएका थिए। तर, चौतर्फी विरोध र सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण उक्त प्रस्ताव फिर्ता भयो।

२०७४ साल भदौ २८ गते उनी ६५ वर्षको उमेर पुगेपछि अनिवार्य अवकाशमा गएकी हुन्।

* * *

सुशीला कार्की प्रधानमन्त्री


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *