जेन-जी आन्दोलन : परिवर्तन र सुशासनको माग
लामो समयदेखि नेपाली जनतामाझ सञ्चित असन्तोष र निराशा अहिले विस्फोट भइसकेको छ। यो विस्फोटलाई ‘जेन-जी आन्दोलन’ को नाम दिइए पनि यसको वास्तविक उद्देश्य राष्ट्रिय सम्पदा जलाउने, लुटपाट गर्ने वा निजी सम्पत्तिमा तोडफोड गर्ने होइन। यो आन्दोलनले परिवर्तन र सुशासनको माग गर्छ। तर, दुर्भाग्यवश, केही निहित स्वार्थ भएका ‘अमुक शक्तिहरू’ ले जनताको आक्रोशलाई दुरुपयोग गरेर आगजनी र लुटपाटको मार्गमा धकेल्न सफल भएका छन्। यस्ता कार्यहरू सधैँ भर्त्सनायोग्य र निन्दनीय छन्। यसले आन्दोलनको गरिमालाई धुमिल पारेको छ।
देशको सुरक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका र जनताको करबाट तलब खाने सुरक्षा निकायका संयन्त्रहरूले आफ्नै आँखाअगाडि राष्ट्रिय धरोहरहरू जलेको हेरेर पनि रोक्न नसक्ने अवस्था अत्यन्त दुःखद र अस्वीकार्य छ। यस्तो असफल र कमजोर संरचनाले देश र जनताको सुरक्षा गर्न सक्दैन। त्यसैले, यस्ता निकायहरूको विधिवत् पुनर्गठन गर्दै नयाँ सुरक्षा संरचना तयार पार्नु अब अत्यावश्यक भएको छ। सुरक्षा निकायलाई जवाफदेही र सक्षम बनाउनु आजको अपरिहार्य आवश्यकता हो।
जनताको आक्रोश विस्फोट भइसकेको वर्तमान अवस्थामा, यसलाई सकारात्मक दिशातर्फ मोड्नु अत्यन्त जरुरी छ। अहिलेको जटिल परिस्थितिको सामना गर्न र लोकतन्त्रको रक्षा, राष्ट्रको स्थायित्व कायम गर्न प्रमुख राजनीतिक शक्तिहरू-नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्र- सबै एकै ठाउँमा भेला हुनुपर्छ। आपसी मतभेदलाई थाँती राखेर संयुक्त रूपमा अघि बढ्नुपर्ने बेला आएको छ।
अबको राजनीति निष्पक्ष, पारदर्शी र सुशासनमुखी हुनुपर्छ। कुनै पनि हालतमा नातावाद, कृपावाद र भ्रष्टाचार स्वीकार्य हुने छैन। जनतालाई लुटेर खाने र राष्ट्रसँग विश्वासघात गर्नेहरूलाई अब कसैले जोगाउने छैन। यस्ता व्यक्तिहरूलाई कानुनी रूपमा तत्काल जिम्मेवार बनाउन र वैधानिक संयन्त्र तयार गरी कारबाहीको दायरामा ल्याउने व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ।
राजनीतिज्ञ, सरकारी कर्मचारी, न्यायाधीश वा सार्वजनिक संस्थानमा कार्यरत जो कोही पनि सम्पत्ति कमाउनका लागि होइन, देश र जनताको सेवा गर्नका लागि हो भन्ने कुरा बुझ्नुपर्छ। यदि कसैलाई सम्पत्ति कमाउने चाहना छ भने त्यसको बाटो व्यापार-व्यवसाय हो, सार्वजनिक पद वा राजनीति होइन। सार्वजनिक पदलाई व्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यम बनाउनु राष्ट्रप्रतिको गम्भीर अपराध हो।
देश र जनताको हितलाई सर्वोपरी राखेर नयाँ युगको सुरुवात गर्न सबैले जिम्मेवार र इमानदार भएर अघि बढ्नुपर्छ। यो समय ठूला कुरा गर्ने होइन, काम गरेर देखाउने समय हो। अबको परिवर्तन केवल नारामा मात्र सीमित हुनु हुँदैन, त्यो व्यवहारमा देखिनुपर्छ।
