जेन-जी वार्तामा सहभागी हुने, लुटपाट र तोडफोड अस्वीकार
काठमाडौं। भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालको दुरुपयोगविरुद्ध देशभर चलिरहेको जेन-जी आन्दोलनका संयोजक पुरुषोत्तम यादवले आन्दोलनलाई बदनाम गराउन केही तत्वहरूले लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडको प्रयास गरिरहेको भन्दै सबैलाई सचेत गराएका छन्।
आन्दोलन नयाँ नेपाल निर्माणको उद्देश्य नजिक पुगेको दाबी गर्दै संयोजक पुरुषोत्तम यादवले बुधबारबाट सम्बन्धित पक्षसँग वार्तामा बस्ने जानकारी दिएका छन्।
मंगलबार साँझ जारी गरिएको विज्ञप्तिमा जेनजीले आन्दोलनको नाममा हुने हिंसा र अराजकतालाई कुनै पनि हालतमा स्वीकार नगर्ने प्रस्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी अहिले हाम्रो उद्देश्य, नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन्।’
जेनजीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु र लुटपाट गर्नु आफ्नो आन्दोलनको हिस्सा कहिल्यै नहुने भन्दै यस्ता कार्यहरूबाट सचेत रहन आम जनसमुदायलाई आग्रह गरेको छ। आन्दोलन शान्तिपूर्ण र अनुशासित बाटोबाटै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
नेपाली सेनाले सम्बन्धित पक्षलाई वार्तामा आउन आग्रह गरेपछि जेनजीले यो विज्ञप्ति जारी गरेको हो।

