जेलबाट रविको सन्देश, ‘आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न’
फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री र वर्तमान सरकारमाथि गम्भीर आरोप लगाएका छन्।
उनले सोमबार काठमाडौँमा भएको जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर विद्यार्थीको मृत्यु भएको घटनालाई ‘नेपाली इतिहासकै कालो दिन’ भन्दै सरकारलाई तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
आफ्नो सन्देशमा लामिछानेले १९ भन्दा बढी विद्यार्थीको रगत बगेको र सयौँ घाइते भएको दाबी गर्दै भनेका छन्, “यी आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न।”
उनले सरकारको कुशासन, भ्रष्टाचार र क्रूरताले नै जेनजी पुस्तालाई सडकमा आउन बाध्य पारेको आरोप लगाए। “सिपालु सिकारीले चरा मारेझैँ स्कुले पोसाक लगाएका अबोध बालबालिकालाई गोली हानेर मारियो,” उनको सन्देशमा उल्लेख छ।
वर्तमान राजनीतिक सङ्कट समाधान गर्नका लागि उनले केही महत्त्वपूर्ण मागहरू पनि अघि सारेका छन्। लामिछानेले जेनजी पुस्तासमेतको सहभागितामा छिटोभन्दा छिटो अन्तरिम नागरिक सरकार गठन गर्नुपर्ने बताएका छन्।
२०४६ सालपछिका सबै नीतिगत निर्णयहरूको समीक्षा गरिनुपर्ने र त्यसयताका उच्चपदस्थ व्यक्ति तथा तिनका परिवारको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने उनको माग छ। साथै, आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनका लागि विज्ञहरूको उच्चस्तरीय समिति गठन गर्नुपर्ने र भदौ २३ को घटनाको छानबिनका लागि न्यायिक आयोग बनाएर प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका व्यक्तिहरूको अपराध अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।
उनले आफ्ना समर्थक र कार्यकर्तालाई संयमित भई शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आग्रह गर्दै आफ्ना माग पूरा नभए संसदबाट राजीनामा दिन तयार रहन रास्वपाका सांसदहरूलाई पनि आह्वान गरेका छन्।
