प्रधानमन्त्रीले भने, ‘राज्यको सम्पत्ति जोगाउन कदम चाल्नुपर्ने स्थिति आयो’
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सोमबार एक विज्ञप्ति जारी गर्दै यस घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्।
प्रधानमन्त्री ओलीले सरकार जेन-जी पुस्ताको मागप्रति संवेदनशील रहेको बताए। तर, प्रदर्शनमा विभिन्न स्वार्थ समूहले घुसपैठ गरी तोडफोड र आगजनी जस्ता घटना गराएको उनको आरोप छ। ‘प्रदर्शनका आयोजक स्वयंले सफल भएको घोषणा गरी घर फर्कन आग्रह गरिसकेपछि घुसपैठियाहरूले संवैधानिक संस्थाका कार्यालयमा तोडफोड र आगजनी गरे,’ उनले भने, ‘त्यसपछि राज्यको सम्पत्ति जोगाउन सरकारले कदम चाल्नुपर्ने स्थिति आयो।’
सामाजिक सञ्जालबारे स्पष्टीकरण
सामाजिक सञ्जाल बन्द गरिएको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले सरकारले नागरिकलाई जोगाउन कम्पनीहरूलाई नेपालमा दर्ता र सूचीकरण गर्न विगत एक वर्षदेखि नै आग्रह गर्दै आएको बताए। केही कम्पनीले दर्ता गरे पनि केहीले बेवास्ता गरेको र सर्वोच्च अदालतले सूचीकरण नगरी सञ्चालन नगर्न निर्देशनात्मक आदेश दिएकाले सामाजिक सञ्जाल निष्क्रिय गर्नुपरेको उनले उल्लेख गरे।
‘सरकारले सामाजिक सञ्जाललाई रोक्ने नीति लिएको थिएन र छैन,’ उनले स्पष्ट पारे, ‘अदालतको आदेशअनुसार सूचीकरण भए लगत्तै पुनः सञ्चालन हुने व्यवस्था गरिएको हो।’
राहत र छानबिनको प्रतिबद्धता
प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, घटनाको कारण र अवस्थाको विश्लेषण गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी एक छानबिन समिति गठन गरिने पनि उनले बताए।

