‘सरकारले नैतिक वैधानिकता गुमायो’

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले निहत्था नागरिकको हत्याको निन्दा गर्दै सरकारले नैतिक वैधानिकता गुमाएको बताएको छ। समाजले २०८२ भदौ २३ गते ‘जेन-जी’ पुस्ताले गरेको देशव्यापी प्रदर्शनका क्रममा काठमाडौंको बानेश्वरमा भएको घटनाले आफू स्तब्ध र मर्माहत भएको जनाएको छ।

शान्ति समाजका अनुसार, भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि अन्धाधुन्ध गोली हानेर मार्ने कार्य निन्दनीय छ। महासचिव प्रकाश शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफूले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध हो। नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुन सक्दैन, तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको छ।”

समाजले यस्तो क्रूरताका लागि जिम्मेवार व्यक्तिहरूलाई दण्डित गर्नुपर्ने माग गरेको छ। स्वाभिमानी युवाहरू भ्रष्ट नेताहरूको नेतृत्वबाट मुक्ति चाहेको, सुशासन खोजेको र निरंकुशताको विरोध गरेको भन्दै यस्तो आवाजलाई गोली हानेर दबाउनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ।

समाजले भ्रष्टाचार र स्वतन्त्रताको पक्षमा गरिने आन्दोलनमाथि दमन गर्न नहुने मान्यता राख्दै, यस्ता आन्दोलनहरू पनि तोडफोड र अराजकताबाट सधैँ मुक्त हुनुपर्ने र संयमित हुनुपर्नेमा जोड दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *