क्यानाडामा कार दुर्घटना, नेपालीसहित दुई जनाको मृत्यु

अन्टारियो (क्यानाडा)। ब्रिटिश कोलम्बियाको क्याम्लुप्स नजिक शुक्रबार साँझ भएको कार दुर्घटनामा एकजना नेपालीसहित दुई जनाको ज्यान गएको छ। अन्य तीन जना गम्भीर घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

मृत्यु हुने नेपाली विद्यार्थीको नाम उत्सुकता अधिकारी रहेको उनका लागि स्थानीय शिव शक्ति मन्दिर र नेप्लिज सोसाइटी अफ, क्यामलुप्सले शुरू गरेको गो-फण्डमी  पेजमा उल्लेख गरिएको छ। पछिल्लो विवरणअनुसार उक्त पेजमा ३४ हजार ५५१ क्यानेडियन डलर संकलन भइसकेको छ।

सो मन्दिरका पुजारी र कारमा सँगै रहेका उनका साथी विकास भण्डारी भने सामान्य घाइते भएको र आवश्यक उपचारपछि घर फर्किएको बुझिएको छ।

शव नेपाल नेपाल पठाउन, घाइतेहरूको उपचार र सहयोगका लागि सहयोग संकलन पनि शुरू गरिएको छ।

अधिकारीले हालै टम्सन रिभर युनिभर्सिटीबाट अध्ययन पुरा गरेकी थिइन्। मृत्यु हुनेमा अर्का एक जना श्रीलंकाली नागरिक रहेको जनाइएको छ। प्रहरीले भने उनीहरूका बारेमा थप विवरण दिएको छैन।

गो-फण्डमी पेजमा लेखिएको छ, “उत्सुकता अधिकारीले टम्पसन रिभर्स विश्वविद्यालयबाट आफ्नो पढाइ पूरा गरेर क्यानाडामा सुन्दर भविष्यको तयारीमा लागेकी एक उज्ज्वल विद्यार्थी र नम्र व्यक्ति थिइन्। उनको दिवङ्गत आत्माले शान्ति पाओस्। उनी सधैँ हाम्रो सम्झनामा रहने छिन्।”

राति करिब ९ बजे क्याम्पुप्सको दक्षिणमा रहेको इंक्स लेक रोड नजिकै दुईवटा गाडी ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ‘ब्रिटिश कोलम्बिया हाइवे पेट्रोल’ कर्पोरल माइकल म्याक्लगलिनले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्।

उक्त स्थानमा उत्तरतर्फको लेनमा एउटा गाडी गलत दिशामा गुडिरहेको बारेमा राति ९ बजेभन्दा केही समय अगाडि प्रहरीमा फोन आएको उनले उल्लेख गरेका छन्।

त्यसको केही मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्नु अघि नै एउटा खैरो रङ्गको पिकअप र सेतो रङ्गको कार ठोक्किएका थिए। प्रहरीले यो दुर्घटना आपराधिक व्यवहारका कारण भएको हुनसक्ने सम्भावनाबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।

नेपाल टच बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *