कोशी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ। मौसमविद्हरूले कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा पूर्वमा र पश्चिममा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। पहाडी क्षेत्रका केही स्थान र बाँकी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ।
आज राति कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा केही स्थानमा तथा अन्य क्षेत्रका पहाड र तराईमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
सर्तक रहन अनुरोध : महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा जलस्तर बढ्ने र यसले यातायातमा समेत असर गर्न सक्ने भएकाले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई अनुरोध गरिएको छ।
