बालिकालाई ठक्कर दिएपछि वास्तै नगरी अघि बढ्यो मन्त्रीको गाडी
विराटनगर। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर चढेको सरकारी गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दिएर भागेको छ। मन्त्री मगर इलामबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन्।
बिहान करिब सवा ७ बजे ललितपुर महानगरपालिका–२८, हरिसिद्धि माविको अगाडि मन्त्री मगरको सरकारी गाडी (को १ झ ६९९) ले बाटो काट्न लागेकी ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो।
प्रत्यक्षदर्शीका अनुसार बालिका जेब्रा क्रसिङबाट बाटो काट्नै लाग्दा गाडीले उनलाई ठक्कर दियो। ठक्करबाट बालिका सडकमा लडिन्। तर मन्त्रीको गाडी नरोकी अगाडि बढ्यो। पछाडि आइरहेका मोटरसाइकल चालकहरूले बालिकालाई उठाएर उपचारका लागि बी एन्ड बी अस्पताल र्पुयाएका थिए। उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ।
मन्त्री मगर ललितपुरमा भइरहेको नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै थिए। यो घटनाका कारण स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए। मन्त्रीको गाडीले ठक्कर दिएर भागेको घटनाको चौतर्फी आलोचना भइरहेको छ।
ललितपुरका एसपी चक्रराज जोशीका अनुसार प्रहरीले मन्त्रीको गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिएको छ।
