इतिहासको बाटो : जब गाडी गुड्दैनथ्यो
गएको असारमा हुम्लाको सिमकोटमा गाडी पुगेपछि नेपालका सबै जिल्ला सदरमुकाम मोटर बाटोको सञ्जालमा जोडिएका छन्। ७७ वटै जिल्ला सदरमुकाममा गाडी गुड्दै पुग्ने भएका छन्। गाडी पुग्ने गुडेरै त हो, उडेर पुग्छन् र भन्ने लाग्ला, तर अब गुड्ने मात्रै मोटर पुरानो हुँदै गएको छ। हालै काठमाडौंमा सम्पन्न ‘नाडा अटो शो’ मा उड्ने कार हेर्न तपाईंले भ्याउनुभएन क्यार।
‘दीपल’ कम्पनीले तयार गरेको उड्ने कार हेर्न सर्वसाधारणदेखि शीर्ष नेतासम्मको भीड थियो भन्ने समाचार पनि तपाईंले छुटाउनुभएजस्तो छ। शोको उद्घाटन गर्न प्रधानमन्त्री ओली स्वयं पुगेका थिए भने केही नेताले त्यसमा चढेर मानिसलाई थप रमाइलोसमेत गराएका थिए। कति फुर्सदिला हाम्रा नेता! समाचारअनुसार त्यो उड्ने कार चीनबाट गाडीमा राखेर ल्याइएको थियो।
मोटर गुडेर पुगेको किन पनि भनिएको हो भने, पहिले काठमाडौंलगायत नेपालका धेरै पहाडी जिल्ला सदरमुकाममा गाडी बोकेर लगि कुदाउने गरिएको थियो। काठमाडौंमा २०१३ सालमा त्रिभुवन राजमार्ग तयार भएपछि मात्र गाडी गुडेर पुगेको हो। त्यसअघि बोकेरै लगिन्थ्यो। कतै डोरी बाँधेर सिङ्गै गाडी लगिन्थ्यो भने कतै खुल्ने पार्टपुर्जा खोलेर टुक्रा–टुक्रा गन्तव्यमा पुर्याई जोड्ने गरिन्थ्यो।
इलाम सदरमुकाम इलाम बजारमा काठमाडौँभन्दा एक वर्ष पहिले २०१२ साल चैत १२ गते गाडी पुगेको थियो। पशुपतिनगरबाट फिक्कल, आइतबारे, गोदक हुँदै माईबेनीबाट उकालो तिल्केनीको बाटो गुडेर गाडी पुगेको थियो। माई र जोगमाईमा धुले पुल थापेर हिउँदभर गाडी चलाइन्थ्यो भने वर्षामा विश्राम लिनुपर्थ्यो। खोलालाई साँघुरो पारेर रुखका मुढा तेर्स्याई त्यसमाथि बाँसको टाटी ओछ्याएर पुल तयार गरिन्थ्यो। यस्ता पुललाई ‘धुलेपुल’ भनिन्थ्यो। कच्ची, अस्थायी, हिउँदे, कामचलाउ आदि नभनेर किन ‘धुले’ भनियो भन्ने कुरा खोजकै विषय छ।
२०१६ सालमा बडाहाकिम सन्तवीर लामाको अगुवाइमा माईखोलाको राजदुवाली छेउमा गाडी चल्ने पक्की पुल बनाउने प्रयास भएको थियो, तर दुर्भाग्यवश त्यो कार्य सम्पन्न हुन सकेन। चैत महिनामा पुल ढलान गरिसकेको केही बेरमा मुसलधारे पानी परेर खोलामा बाढी आई ढलान अड्याउन लगाएका टेका बगाएपछि आलो ढलान गर्ल्यामगुर्लुम खोलामा खसेर बाढीसँगै बगेको थियो। यसरी त्यो प्राकृतिक प्रकोपले त्यस क्षेत्रको भाग्य नै बगाएको थियो। २०२०/२१ सालतिर सोक्तिमको कच्ची बाटो खुलेर हिउँदमा गाडी चले पनि वर्षायाममा रोकिन्थ्यो। मेची राजमार्ग खुलेपछि मात्रै इलाममा सदाबहार गाडी गुड्न थालेको हो।
अचेल महेन्द्र राजमार्गको चारआलिबाट दुई-अढाई घण्टामा इलाम पुगिन्छ। मेची राजमार्ग कालोपत्रे नहुँदा खासगरी वर्षायाममा त दिनभर लाग्थ्यो मलाई बिर्तामोडबाट इलाम पुग्न। त्यति मात्रै होइन, माई तरेपछि अहिले पुवाखोला जलविद्युत् आयोजनाको पेन्स्टक पाइप छेउको केराबारी भन्ने ठाउँमा चिप्लेर गाडी चढ्न नसकेपछि आफ्ना झोलाझ्याम्टा च्यापेर उकालो लाग्नुको विकल्प यात्रुहरूसँग थिएन। बास बस्न इलाम नै आइपुग्नुपर्ने, दुई-तीन घण्टा हिँडेर। जसले ती दिन भोगेको छ, उसका लागि त्यो स्मरणसमेत सुखद छैन भने त्यो नभोगेको नयाँ पुस्तालाई यो कुरा इतिहासले दिने रमाइलो सन्दर्भसरह हुनसक्छ।
कुरो २०३८ सालतिरको हो, म झापाबाट इलाम गइरहेको थिएँ बसमा। तीनघरेको तेर्सोमा पुगेपछि बसमा केही समस्या आएकाले चालकहरू त्यो मर्मत गर्नतिर लागे। यात्रुहरू सबैजसो ओर्लिएर यताउता रमिता हेर्न, गफ गर्नतिर लागे। हेर्दा पचास-पचपन्न नाघेका जस्ता देखिने एक विदेशी जोडी भने अलि पर सडकमा ढुङ्गाको ‘खोप्पि’ खेल्न थाले। गाडी ढिलो भएकामा धेरै यात्रु भुटभुटिइरहेका थिए भने ती दुई चाहिँ त्यस खेलमा मज्जाले रमाइरहेका थिए। तिनको खेललाई हेर्दै म मनमनै सोच्दै थिएँ– ‘जीवन भनेको सोचाइ रहेछ। एउटै र उस्तै समयमा यो जोडी आनन्द लिइरहेको छ भने अरू धेरै मानिस ढिलो हुने भयो भन्ने चिन्तामा पिरोलिइरहेका छन्।’
ती जोडी राजमार्गबाट छुट्टिएर गाउँतिर जाने सडकबीचमा खेल्दै थिए, केही बेरपछि म पनि तिनको नजिकै गएर खेल हेर्न थालेँ। तिनले मलाई ‘हेलो’ भनेर स्वागत गर्दै, ‘समय कटाउँदै छौँ, तिमी पनि खेल्छौ ?’ भने। मैले मलाई हेर्नै रमाइलो लागिरहेको छ, तिमीहरू खेल न भनेँ। ‘हुन्छ त’ भन्दै तिनले आफ्नो खेल जारी राखे। हाम्रो जस्तो आफूलाई मन परेको कुनै पनि कुरामा अर्कालाई कर गरेर तान्ने अभ्यास उनीहरूतर्फ छैन। यसलाई असल अभ्यास भन्नुपर्छ र सकेसम्म सिको पनि गर्नुपर्छ।
आधा घण्टाजसोपछि गाडी बनियो। हामी कुरा गर्दै आएर गाडीमा चढ्यौँ। मेरो सिट उनीहरूकोभन्दा अलि पछाडि थियो र म उनीहरूसँग उभिएर कुरा गर्दै थिएँ। तिनको छेउमा बसेका मानिसले सदाशयता देखाए– ‘पाहुनाले तपाईंको कुरामा रुचि लिए, मलाई त इङ्ग्लिस आउँदैन, सिट साटेर बसौँ न त।’ साठी नाघे जस्ता ती ग्रामीण सज्जनको कुरा सुनेर म हतप्रभ भएँ। हाम्रामा पनि असल संस्कृति नभएको होइन! साँझतिर इलाम आइपुगियो। मैले उनीहरूलाई एउटा होटेलमा राखिदिएँ र अर्को बिहान भेट्ने बाचा गरेर बिदा भएँ।
भोलिपल्ट बिहान गएर मैले उनीहरूलाई भानुपथ, टुँडिखेल हुँदै सिंहवाहिनी मन्दिर पुर्याएँ। त्यहाँको प्राकृतिक वातावरण र मन्दिरको सुन्दरता तिनले औधी मन पराए। त्यहीँ बसेर हामीले निकै बेर कुरा गर्यौँ। मैले मेरो बाल्यकाल र विद्यार्थी जीवनमा त्यो सिंहवाहिनीसँगको सम्बन्धका बारेमा तिनलाई बताएँ। त्यसताका इलाम बजारमा पानीको दुःख थियो। निजी धाराको चलन थिएन। ठाउँ–ठाउँमा सार्वजनिक धारा थिए, त्यहीँ पानी थापेर काम चलाउने गर्थे बजारका मानिसहरू। बिहान र बेलुका गरी दिनमा दुई पटक पानी छोडिन्थ्यो धारामा। त्यस बेला धारामा गाग्री र महिला अनि केटाकेटीको भीड लाग्थ्यो।
घरमा पानीको व्यवस्था नभएकाले हामी साप्ताहिक बिदाको दिन शनिवार सिंहवाहिनी र आसपासका जरुवा धाराहरूमा गएर कपडा धुने र नुहाउने गर्थ्यौँ। दशैँको नौरथामा हरेक दिन बिहान त्यहाँ पुगेर हातमुख धुने र मन्दिरमा भगवतीको दर्शन गर्ने चलन थियो हाम्रो। बिहान को पहिला पुग्ने भन्ने होडमा एकाध पटक हामी आधा रातमा पनि त्यहाँ पुगेका छौँ। त्यस बेला अहिले जस्तो मानिसपिच्छे होइन, घरपिच्छे नभएर सबै टोलमा समेत एक/एक थान घडी पनि थियो थिएन। त्यसैले यस्तो हुन्थ्यो। मैले सुनाएका यी अनुभव तिनले बडो रमाइलो मानेर सुनेका थिए।
मन्दिर परिसर अहिले जस्तो कङ्क्रिटको जङ्गलले ढाकिएको र उजाड थिएन। डम्म फूलका बिरुवा र रुखहरूले मन्दिर परिसरमा सूर्यका किरणसमेत छिर्न दिँदैनथे। मध्याह्नतिर सूर्य सिधा माथि हुँदा अलिअलि किरणहरू खस्थे। त्यसैले धारा वरपर र मन्दिर परिसरमा भुईँमा लेउ जमेको हुन्थ्यो। वर्षायाममा चिप्लो हुने भएकाले नौरथाअगावै हामी त्यसको सरसफाइ गर्थ्यौँ। दिउँसो खाजा छुट्टीमा सुटुक्क गएर फलफूल चोरी खान पनि हामी पछि पर्दैनथ्यौँ। यसरी उपद्रो गर्दागर्दै पुजारीले फेला पारेका दिन हाम्रो कन्तबिजोग हुन्थ्यो। स्कुलमा गएर पोल लगाइदेलान् भन्ने अर्को महापीर! हाम्रो बाल्यकालको उपद्रोको कुरा सुनेर त्यो मानिस मरीमरी हाँस्यो। ऊतिर लक्षित गर्दै उसकी पत्नीले भनिन्– ‘केटाकेटीमा ऊ पनि साह्रै चकचके थियो रे!’
त्यहाँबाट फिर्दा हामी हाइस्कुलको बाटो आयौँ। हाइस्कुल भनेको अहिलेको आदर्श मावि। पहिले यसको नाम पद्मोदय हाइस्कुल थियो, पछि आदर्श हाइस्कुल पारियो, एक पटक आदर्श उच्च नमुना मावि पनि भएको थियो। यो इलामको जेठो आधुनिक विद्यालय हो। जनजिब्रोमा यसलाई ‘हाइस्कुल’ मात्र भनिन्थ्यो। २०२० को दशकभरिसम्म इलाम जिल्लाभरि ‘हाइस्कुल’ भन्नाले आदर्श मावि र ‘हेडसर’ भन्नाले देवीदास श्रेष्ठ बुझिन्थ्यो। त्यसबेलासम्म इलाममा करफोक, मङ्गलबारे, शुक्रबारे, आमचोक र सदरमुकाममै कन्या हाइस्कुलहरू स्थापित भइसकेका थिए तापनि ‘हाइस्कुल’ र ‘हेडसर’ शब्दले त्यही जेठो विद्यालय र त्यसमा लामो समय कार्यरत प्रधानाध्यापकलाई बुझाउँथ्यो। ०२९ देखि ०३७ सम्म म इलाम बाहिर भएँ, पछि आउँदा मानिसमा आदर्श मावि र देवीदास सर भन्ने बानी पर्न लागेको पाएँ। त्यसबेलासम्म धेरै हाइस्कुल र धेरै हेडमास्टर भएकाले किटानी गर्नै पर्ने अवस्था आएको थियो होला।
विद्यालयअगाडिको बाटोबाट मैले तिनलाई ‘यो मैले पढेको विद्यालय हो’ भनेर देखाएँ। अहिलेजस्तो पर्खाल लगाएर विद्यालय परिसर घेरिएको थिएन, बाहिरबाट सबैजसो भाग देखिन्थ्यो। ‘वाऽऊ…, हाउ नाइस! भेरी लब्ली!’ ती महिला सुखातिरेक भावमा चिच्याइन् र ‘हामी त्यहाँ जान सक्छौँ नि?’ भन्दै विद्यालय प्राङ्गणतिर लागिन्। ती पुरुषले मलाई बिस्तारै भने, ‘ऊ पनि शिक्षिका हो नि। त्यसैले विद्यालयप्रति उसको विशेष रुचि छ।’
विद्यालय प्राङ्गणको बीच भागमा उभिएर चारैतिर नजर लगाएर विद्यालय परिसर निरीक्षण गरेपछि तिनले मेरो कुममा समाएर भनिन्, ‘सो, दिस इज योर अल्मा माटर।’ मैले सहमतिमा शिर हल्लाएँ। अङ्ग्रेजीको ‘अल्मा माटर’ शब्दको नेपालीमा सिङ्गो शब्द सायद छैन। ‘मातृविद्यालय’ वा ‘गुरुकूल’ नजिकका शब्द हुनसक्छन्। आफूले पढेको शिक्षण संस्थालाई पछि तिनले ‘अल्मा माटर’ भन्ने गर्दछन्। यसरी एउटै विद्यालय वा विश्वविद्यालयमा पढेका पूर्व विद्यार्थीहरूले आफूलाई ‘अल्मुना’ र तिनको सङ्गठनलाई ‘अल्मुनाई’ भन्दछन्।
हो, जबजब म आदर्श मावितिर पुग्छु, आफ्नो ‘अल्मा माटर’को आनन्दबोध गर्छु। बाल्यकालका, विद्यार्थी जीवनका संस्मरणहरू ठेलमठेल गरेर स्मृतिमा उभिन्छन्। यही संस्थामा मेरो यो जीवन र मैले आर्जन गरेको मान–सम्मानको जग छ। त्यही जगमा उभिएर म यी पङ्क्ति लेखिरहेछु। त्यो विद्यालय स्थापना गर्दाका कठोर दिनहरूको स्वर्गीय देवान सरले गर्नुभएको वर्णन सम्झन्छु र त्यस कथाका पात्रहरूलाई स्मरण गरेर नतमस्तक हुन्छु।
