सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय गलत : गगन
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन्। उनले आफ्नो फेसबुक पोस्टमार्फत सरकारको यो निर्णय गलत भएको र यसलाई पुनर्विचार गर्नुपर्ने बताएका छन्।
थापाका अनुसार, सरकारले सर्वोच्च अदालतको आदेशलाई गलत तरिकाले व्याख्या गरेको छ। उनले लेखेका छन्, “सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको दुरुपयोग रोक्न र यसलाई नियमन गर्न कानुन बनाउन भनेको हो। यसको हवाला दिँदै निर्देशिकाको आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन।”
उनले सामाजिक सञ्जालसम्बन्धी कानुन राष्ट्रिय सभामा विचाराधीन रहेकाले त्यसलाई छिटो पारित गरी उपयुक्त कानुन बनाउन सरकारसँग आग्रह गरेका छन्। थापाले सामाजिक सञ्जाललाई सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नका लागि आवश्यक कानुन निर्माणमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन्।
