‘नाफा-घाटामात्र होइन वातावरण र सामाजिक सुशासन पनि’
विराटनगर। वातावरण र सामाजिक सुशासन (इएसजी) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, आईएफसी र युरोपियन युनियनको संयुक्त आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको सहकार्यमा अन्तरक्रिया गरिएको हो।
महासंघ, कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले आजको विश्वमा लगानीकर्ताहरूले कम्पनीको नाफा–घाटा मात्र नहेरी इएसजी अभ्यासलाई पनि ध्यान दिने गरेको बताए। उनले कोशी प्रदेशले इएसजी मापदण्ड अपनाउन सके भविष्यमा यो प्रदेश लगानीका लागि आकर्षक गन्तव्य बन्न सक्ने कुरामा जोड दिए।
महासंघले विगतमा साना तथा मझौला उद्योगहरूको प्रवर्द्धन, महिला उद्यमीको क्षमता विकास, नेपाली ढाका कपडाको प्रवर्द्धन, ग्रामीण उत्पादनको ब्रान्डिङ र रैथाने उत्पादनको बजारीकरणमा जोड दिएको राउतले बताए।

कार्यक्रममा आईएफसीका प्रतिनिधि यजस्वी श्रेष्ठले आईएफसीको परिचय, नेपालमा भइरहेका कार्यक्रमहरू र कार्यक्रमको उद्देश्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए।। त्यसैगरी, लोपा रहमान र सोफिया टामोटले व्यावसायिक सुशासन र यसको महत्त्वका साथै वातावरण तथा सामाजिक चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै आईएफसीका प्रतिनिधिहरूले नेपालमा गर्ने लगानी र त्यसको प्रक्रियाबारे प्रस्ट पारेका थिए। सो अवसरमा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले इएसजी मापदण्डबारे जिज्ञासा राखेका थिए।
यस्तै, ग्रीन यार्ड एग्रो फार्मका सञ्चालक गिरिराज बस्नेतले कृषि र गाईपालन क्षेत्रमा रहेका वातावरणीय जोखिमबारे अवगत गराएका थिए। कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू र करिब ४० भन्दा बढी उद्योग प्रतिष्ठानका सञ्चालकहरूको उपस्थिति थियो।
