कोशीमा पानी बढेको बढ्यै, ३८ ढोका खोलेर निकास
फाइल तस्बिर
विराटनगर। सप्तकोशी नदीमा पानीको सतह लगातार बढिरहेको छ। पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएको हो।
पानीलाई निकास दिन कोशी ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका खोलिएको छ। सोमबार राति १० बजे गरिएको मापनअनुसार ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो।
त्यसअघि दिउँसो ४ बजेको मापनमा भने पानीको बहाव २ लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ वटा ढोका खोलिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पानीको बहाव बढिरहेको छ।
ब्यारेजमा खतराको संकेत स्वरूप ‘रातो बत्ती’ बालिएको छ। यसले स्थानीय बासिन्दा र सरोकारवालाहरूलाई सतर्क रहन संकेत गर्छ। हाललाई डुबानको तत्काल जोखिम नरहे पनि, पानीको सतह निरन्तर बढिरहेकाले सप्तकोशी र त्यस आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण ठाउँमा नजान आग्रह गरिएको छ।
