कोशीमा मनसुनी प्रणाली सक्रिय
विराटनगर। कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरमा रहेको राडारले झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा यो प्रणाली विकसित भएको देखाएको छ। यो प्रणाली उत्तर–पश्चिम दिशातिर फैलिरहेको छ।
यसको प्रभावले कोशी प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी तराई र पहाडी क्षेत्रमा प्रतिघण्टा २५ मिलिमिटरसम्म पानी पर्न सक्ने विभागले जनाएको छ।
प्रदेशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेकोले सतर्क रहन अनुरोध गरिएको छ। आज मंगलबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा अन्य प्रदेशका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
