सूर्योदयसहित ६ पालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने
विराटनगर। कोशी प्रदेश सरकारको समन्वयमा मोरङ र इलामका ६ वटा पालिकाले संयुक्त रूपमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने भएका छन्। मोरङका चार र इलामका दुई पालिकाले शुक्रबार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग फोहोरमैला व्यवस्थापनका लागि रणनीतिक साझेदारी सम्झौता गरेका छन्।
सम्झौता अनुसार मोरङको रंगेली र सुनवर्षी नगरपालिका तथा कानेपोखरी र धनपालथान गाउँपालिकाले संयुक्त रूपमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालन गर्नेछन्। इलामको रोङ गाउँपालिका र सूर्याेदय नगरपालिकाले पनि संयुक्त रूपमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्नेछन्।
समझदारीपत्रमा मन्त्रालयको तर्फबाट निमित्त सचिव रमेश श्रेष्ठ, रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवाल, सुनवर्षीका प्रमुख श्याम राजवंशी, धनपालथानका अध्यक्ष जीवछ गच्छदार र कानेपोखरीकी अध्यक्ष राजमति इङ्नामले हस्ताक्षर गरेका छन्।
यसैगरी, इलामको सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राई र रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासले हस्ताक्षर गरेका छन्।
मोरङका चार पालिकाको फोहोरमैला व्यवस्थापन केन्द्र रंगेलीमा बन्नेछ। यसका लागि रंगेली नगरपालिकाले एक बिघा जग्गा छुट्याइसकेको छ। यसैगरी, चारवटै पालिकामा मुख्यमन्त्री अत्यावश्यक केन्द्र पनि निर्माण भइरहेको छ। इलामका दुई पालिकाको फोहोर व्यवस्थापन केन्द्र सूर्याेदयमा रहनेछ।
यी दुई स्थानमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५–५ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ। यसबाहेक, प्रदेश समन्वय परिषद् (पीएसपी) ले पनि २–२ करोड रुपैयाँ बजेट छुट्याएको छ। अपुग रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने जनाइएको छ।
स्थानीय तहले संयुक्त रूपमा फोहोर व्यवस्थापनका लागि एकीकृत फोहोर प्रशोधन केन्द्र र ल्यान्डफिल साइट निर्माण गर्दा फोहोरको पुनः प्रयोग, प्रशोधन र व्यवस्थापनलाई वातावरणमैत्री बनाउने सरकारी लक्ष्य छ।
