विराटनगरको आरोहण गुरुकुलमा ‘एक चिहान’
विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा भदौ ११, बुधबारदेखि लोकप्रिय उपन्यास ‘एक चिहान’ मा आधारित नाटक मञ्चन हुने भएको छ । हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित यस मनोसामाजिक उपन्यासलाई नाट्य रूपान्तरण गरी गुरुकुलको सुशीला कोइराला नाटकघरमा प्रदर्शन गरिनेछ ।
माध्यमिक शिक्षा परिषद्को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरिएको यो उपन्यासलाई विद्यार्थी तथा कलाकारहरूका लागि सहज बनाउने उद्देश्यले नाटक मञ्चन गर्न लागिएको हो । विराटनगर र आसपासका नयाँ कलाकारहरूको खोजी गर्दै गरिएको कार्यशालापछि यस नाटकको पूर्वाभ्यास गरिएको हो । नाटक संयोजक देवेन्द्र यादवका अनुसार, यो नाटक भदौ महिनाभरि नियमित रूपमा प्रदर्शन गरिनेछ ।
नाटकले करिब सात दशक अघिको नेपाली समाजको यथार्थ चित्रण गरेको छ । यसमा प्रजातन्त्रपछिको प्रगतिशील सोच, सांस्कृतिक सम्मिश्रण, लैंगिक समानताको आवश्यकता र समाजमा विद्यमान रुढीवाद तथा अन्धविश्वासलाई स्वाभाविक पात्र र घटनाक्रममार्फत प्रस्तुत गरिएको छ । समाजले नारीलाई हेर्ने दृष्टिकोण र जातीय विभेदजस्ता विषयवस्तुलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

नाटकमा अष्टनारानको भूमिकामा महेश पासवान, लतमायाको भूमिकामा संगीता यादव, शिवनारानको भूमिकामा उद्धव सापकोटा, हाकुमायाको भूमिकामा दिक्षा चौधरी, पुननारनको भूमिकामा गौरव खतिवडा, सिन्तलीको भूमिकामा उपासना राई र हर्षनारानको भूमिकामा शिवराज भुजेलको अभिनय रहनेछ । अन्य पात्रहरूमा भरत कार्की, प्रदीप दाहाल, अमिशा वाग्ले, सागर घिमिरे, निशान चौहान राई र दिव्याङ्का खड्काले अभिनय गर्नेछन् ।
सास्थम कलेज, बगैंचा र विराट किचनको सहयोगमा प्रदर्शन हुने यस नाटकको परिकल्पना तथा निर्देशन दीपेश भण्डारीले गरेका छन् । नाटकमा भरत कार्कीको प्रकाश परिकल्पना र विकास पराजुलीको मञ्च परिकल्पना रहेको छ भने कलाकार राजन काफ्लेको चित्रकला र कवि रमेशचन्द्र अधिकारीको पाश्र्व आवाजको प्रयोग गरिएको छ । संस्थाका अध्यक्ष भैरव क्षेत्रीले आवश्यकताअनुसार विद्यालय र सरोकारवालाहरूको मागअनुसार नाटकको प्रदर्शनलाई व्यवस्थापन गरिने बताए ।

