नेपाली शुद्ध लेख्न सकिएला ?

उहिलेको नेपालमा अपवादबाहेक पढ्ने-पढाउने विद्यालय थिएनन्। कतै-कतै गुरुहरूले आफ्नै घरमा आएका शिष्यलाई धेरथोर पढाइदिन्थे। एकाध स्थानमा पाठशाला थिए, जहाँ अधिकतर संस्कृत पढाइन्थ्यो। त्यसैले अधिकांश ठाउँबाट पढ्नका लागि घर छाडेर अन्यत्र जानु पर्थ्यो। कोही त देशको सिमाना नाघेर भारतको बनारसतिर पुग्थे। त्यस बखत नेपालीहरूका लागि पनि बनारस शिक्षाको केन्द्र थियो। कोही भने नेपालभित्रै कतै पण्डित गुरुहरूकोमा गएर शिक्षादीक्षा लिने गर्थे।

यसरी पढ्न अलिक टाढै गएका एक युवकले दुई-अढाई महिनापछि घरमा चिठी पठाएछन्। हलकाराले सोधखोज गर्दै चिठी उनको घरमा पुर्‍याइदियो। घरका मानिसले चिठी त पाए तर घरमा पढ्न जान्ने कोही थिएन। झन्डै घण्टाभरको बाटो धाएर आफ्ना पुरोहितकहाँ पुगेर चिठी दिए, पढिदिनका लागि। पुरोहितले चिठी खोलेर हेरे। लेखिएको थियो, “खरचनपठलतभकलमरल।” निकैबेर लगाएर चिठी हेरेपछि पुरोहितले भने, “केटाको खर्च सकिएछ, छिटै खर्च पठाइदिएनौ भने भोकले मर्छ अरे।”

साउँ अक्षर मात्रै चिनेका ती युवकलाई मात्राहरूबारे जानकारी थिएन। जति जानेका थिए त्यतिकै भरमा आफ्नो कुरा लिखित रूपमा घरसम्म पुर्‍याउन पाए। अनुभवी पुरोहितका कारण घरका मानिसले पनि उनको कुरा बुझ्न समस्या भएन। घरबाट खर्च पठाइदिए होलान्।

तर पढ्दै जाँदा मात्रा र वर्तनीहरू तथा तिनको हिज्जे पनि जान्न थालेपछि ती युवकलाई पनि चिठी लेख्न समस्या भयो होला। किनभने पिउने ‘पानी’लाई ‘पानि’ लेख्ने कि ‘पानी’ लेख्ने दोधार भयो होला। हिजोआज समेत कतिलाई ‘मलाइ’ कि ‘मलाई’, ‘आबाज’ कि ‘आवाज’, ‘कानुन’ कि ‘कानून’, ‘खुसी’ कि ‘खुशी’, ‘गरिब’ कि ‘गरीब’, ‘अन्डा’ कि ‘अण्डा’, ‘फुल’ कि ‘फूल’, ‘सहर’ कि ‘शहर’, ‘मस्तिष्क’ कि ‘मस्तिश्क’ कुन चाहिँ सही हो भनेर खुट्याएर लेख्न गाह्रो पर्छ। “पहिला बुझ्न कठिन, बुझ्यो झन् कठिन, झन्-झन् बुझ्यो झन् कठिन” भन्ने कथन नेपाली भाषा सिक्नेका लागि चरितार्थ भएरै छाड्छ।

हिज्जे मिलाएर शुद्ध नेपाली लेख्ने नेपाली थोरै होलान्। यसको मुख्य कारण हो, नेपाली पढाउँदा हिज्जेका बारेमा बालबालिकालाई राम्ररी नबुझाइनु। यो पंक्तिकारको आफ्नै अनुभवमा प्राथमिक कक्षातिर यस विषयमा कुनै जानकारी नै पाइएन शिक्षकहरूबाट। त्यो समयमा सिकाएको कुरा टपक्कै टिपिन्थ्यो। अहिले विचार गर्दा हाम्रा शिक्षकहरू स्वयंलाई त्यस बारेमा खासै जानकारी थिएन। नौ-दश कक्षातिर पुगेपछि नेपाली विषयको खाता परीक्षण गर्दा शिक्षकले धेरथोर हिज्जे नमिलेका ठाउँमा रातो लगाएको देखिए पनि त्यसको महत्त्वलाई बुझिएन, बुझाइएन अथवा हाम्रो ध्यानाकर्षण हुनेगरी त्यो विषयमा चर्चा गरिएन। सामाजिक, इतिहास, स्वास्थ्य आदि जस्ता विषयमा त शुद्धाशुद्धि हेर्ने चलन नै थिएन। नेपाली मूल विषयबाहेक उच्च शिक्षासम्मै भाषागत शुद्धाशुद्धि हेर्ने चलन थिएन।

नेपाली लेख्न जानेको एकाध वर्षपछि मात्रै अङ्ग्रेजी वर्णमाला सिकेर पनि अङ्ग्रेजी शब्दको हिज्जे शुद्ध लेख्न कमबेसी जानियो भने त्यसरी नै सिकाएको भए वा त्यसको महत्त्व बताइदिएको भए नेपाली शब्दको हिज्जेलाई शुद्ध लेख्न अवश्य नै सबैले जान्ने थिए। सामान्यतः ‘श’, ‘ष’, ‘स’, ‘व’ र ‘ब’ बाहेक नेपालीमा जस्तो वर्ण लेखिन्छ, उस्तै उच्चारण गरिन्छ। लेखाइ र उच्चारणमा सरलता छ। तर, अङ्ग्रेजी यस्तो सरल छैन। पदमा रहेका कति वर्ण उच्चारणमा पुकारिँदैनन्। अर्थात् नेपालीभन्दा अङ्ग्रेजीको लिपि लेख्न सरल भए पनि शब्दको उच्चारण जटिल छ।

शब्दको कुरै छाडौँ, मैले ठिकसँग ‘ख’ वर्ण लेख्न २५ वर्षको हुँदा सिकेँ। त्यो पनि संयोगले। त्यसपूर्व ‘रव’ लेख्थेँ। यी हरफ पढ्ने धेरैले ‘ख’ भनेर ‘रव’ नै लेख्ने गर्नुभएको होला। ‘ख’ यसरी तल जोडिएको हुन्छ भन्ने समेत याद नगर्नुभएको होला। गोरखापत्र दैनिकको नाम ‘गोररवापत्र’ नै छ। सायद पहिले यस्तै लेखिन्थ्यो। पछि ‘ख’ र ‘र व’ छुट्याउन ‘ख’ लेख्न थालियो होला। खास कुरा अहिले पनि थाहा छैन।

हिज्जेको मात्रै कुरा भएन, प्रशस्त प्रयोग वा चल्तीमा नआएका शब्दलाई सही अर्थमा नबुझिएको पनि हुनसक्छ। यस पंक्तिकारले सुरुमा ‘दुरुत्साहन’ शब्दलाई निरुत्साहित गर्ने कामको अर्थमा लिएको थियो। कानुनी प्रसङ्गमा भएको यसको प्रयोग र आफूले बुझेको अर्थ नमिलेपछि शब्दकोश हेरेर आफूलाई सच्याउनु परेको थियो।

प्रशस्त चल्तीमा रहेको ‘सायद’/‘सायदै’ शब्दलाई विपरीत अर्थमा धेरैले प्रयोग गरेको सुनिन्छ। टेलिभिजनमार्फत प्रसारण गरिएका अन्तर्वार्तामा समेत यस्तो गलत प्रयोग भएको देखिन्छ। ‘सायद आज घाम लाग्ला’ भन्दा घाम लाग्ने सम्भावना धेरै छ भन्ने बुझिन्छ भने ‘आज सायदै घाम लाग्ला’ भन्दा आज घाम लाग्ने सम्भावना साह्रै कम छ वा छैन भन्ने बुझिन्छ। ‘यस कुरालाई सायदै कसैले पत्याउँदैनन्।’ भन्नु गलत हुन्छ। त्यसको सही प्रयोग हुन्छ: ‘यस कुरालाई सायद कसैले पत्याउँदैनन्।’ वा ‘यस कुरालाई सायदै कसैले पत्याउलान्।’

यी हरफहरू पढ्ने कतिलाई लाग्ला यसको लेखकलाई नेपाली भाषा शुद्ध गरी लेख्न आउँदो रहेछ। तर कुरो त्यसो होइन। आफ्नो भाषा शुद्ध लेख्न जान्नुपर्दछ भन्ने चेत धेरैपछि पलायो। त्यसपछि लेख्न थाल्दा कुनै पदमा प्रयुक्त हुने हिज्जे यसो हुन्छ कि उसो, यस्तो हुन्छ कि उस्तो हुन्छ भन्ने दोधार अहिले पनि छ। भाषाका जानकार भन्छन्, यस्ता शब्द सात सय जति छन् र तिनमा पनि प्रयोगमा आइरहने त थोरै, तथापि तिनलाई स्मरणमा राख्न बुढेसकालमा गाह्रै हुने रहेछ।

निश्चित पद वा तिनको हिज्जे लेख्न दोमन भएको बेला सन्दर्भ सामग्री हेरौँ न भन्यो भने त्यहाँ अर्को भद्रगोल फेला पर्छ। भाषाका जानकार वसन्त थापा एउटा लेखमा लेख्छन्, “पहिलो कुरा त, मानक नेपाली भाषा के हो? त्यो कुरा नै निर्धारण हुन सकेको छैन। त्यो किन पनि भएको छैन भने मानक नेपाली व्याकरणको निर्माण नै अधकल्चो अवस्थामा छ। हामीकहाँ विद्वान् भाषाशास्त्री र वैयाकरणहरूको कमी भएर त्यसो भएको होइन। तर, विद्वान्हरूबीच भाषाउपर मतैक्य नहुनाले यो अवस्था सिर्जना हुन गएको हो। हरेक विद्वान् व्याकरणविद्का आफ्नै सिद्धान्त र अडान छन्, आफ्नै ढिपी र रटान छन्, जसको मारमा परेको छ बबुरो नेपाली भाषा। कोही तालव्य ‘श’ ठीक भन्छन्, कोही दन्त्य ‘स’ सही भन्छन्। कोही शब्द या पद जोड्नुपर्छ भन्छन् कोही फुटाउनुपर्छ भन्छन्। कोही संयुक्त शब्दको एक थरी ढाँचा देखाउँछन्, कोही अर्को थरी ढाँचा। कोही एउटा हिज्जेमा जोड दिन्छन् कोही अर्को वर्तनीमा। यसले भाषालाई कचल्ट्याउने र प्रयोगकर्तालाई अल्मल्याउने काम मात्रै गर्छ, सोझो बाटो हिँडाएर हुर्काउने होइन।”

उनी अगाडि भन्छन्, “अहिले नेपाली भाषाको अवस्था वा दुरवस्था हेर्दा यो यस्तो टुँडिखेल बनेको देखिन्छ, जहाँ आएर कबड्डी, डन्डिबियो, फुटबल, भलिबल, क्रिकेट, कुस्ती, बक्सिङ, जसलाई जे मन लाग्यो त्यही खेल खेले हुन्छ। जस्तो नाच पनि नाचे हुन्छ। यहाँ मार्गदर्शक, सचेतक, नियामकको कार्य गर्ने कुनै निकाय छैन।”

अङ्ग्रेजी माध्यममा पढ्ने नयाँ पुस्तालाई नेपाली भाषाको बोझ भनिनसक्नुको छ। उनीहरूलाई विद्यालयमा नेपाली भाषा बोल्ने छुटै छैन। घरमा समेत पढेलेखेका अभिभावक छन् भने उनीहरूमध्ये धेरैले तिनलाई अङ्ग्रेजीमै बोल्न उक्साउँछन्। शिक्षाको गुणस्तरमा खास चासो राख्ने एक सज्जन भन्छन्: तीन-चार कक्षामा पढ्दा घरमा हामीलाई स्वस्थानीको किताब पढेर कथा सुनाउन लगाइन्थ्यो। चिठी पढ्ने मात्रै होइन त्यसको जवाफ लेख्न समेत लगाइन्थ्यो तर अचेल निजी विद्यालयबाट दश पास गरेका सबैले नेपाली फरर पढ्न सक्दैनन्।

नेपाली भाषा साइनो बुझाउने शब्दहरूमा सायद संसारकै भाषाहरूमध्ये धनी होला। जस्तै, फुपु, माइजु, सानिमा, ठूलीआमा, काकी आदि भन्दा के साइनो हो ठ्याक्कै बुझिन्छ। अझ तिनमा जन्मको क्रमसंख्या बुझाउने जेठी, अन्तरी, कान्छी जस्ता शब्द जोड्दा दिने अर्थ कति र्‍याङ्क-ठ्याङ्क सुनिन्छ। तर हिजोआज ती सबैलाई एउटै डालामा राखेर भन्छन्- ‘अण्टी’ वा ‘आण्टी’। हेर्नुहोस् त साइनो बुझाउने शब्दहरूको हत्या कसरी भइरहेको छ!

यसै सम्बन्धमा भानुभक्त आचार्य भन्छन्, “अचेल नेपाली भाषामा अङ्ग्रेजीकरण यति धेरै छ ‘पढे-लेखेका’ मानिसहरू एक-दुई अङ्ग्रेजी शब्द नघुसाई एउटा नेपाली वाक्य बोल्न असमर्थ हुँदैछन्। फेरि इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले नेपाली युनिकोड हुँदाहुँदै रोमन लिपिमा नेपाली लेख्ने चलन बढ्दो छ जसको कुनै मानक छैन। अर्थात्, जस्तो लेखे पनि हुन्छ। यस्तो अवस्था हुनु भनेको भाषामा प्रदूषण बढ्दै जानु हो जसले भाषालाई क्रमशः विषाक्त बनाउँदै लान्छ र अन्त्यमा प्रयोग हुनै नसक्ने अवस्थामा पुर्‍याउँछ।”

सरकारलाई त भाषाका बारेमा कुनै चासो नै छैन। भाषाको सबैभन्दा ठूलो भद्रगोल हेर्नलाई सरकारी निकायबाट प्रकाशित सामग्रीहरू हेरे पुग्छ। केही अघि सरकारले प्रकाशित गरेका विद्यालय तहका पाठ्यपुस्तकले नेपाली भाषामा एक प्रकारको अराजकता नै ल्यायो। भाषा प्रेमीहरूले अदालतको ढोका नै ढकढक्याउन पुग्नु पर्‍यो। भाषा यस्तै हुनुपर्छ भनेर अदालतले निर्णय गर्ने विषय होइन, भाषाविद्हरूले अध्ययन, चिन्तन र खोज गर्ने विषय हो भनेर निर्णय दियो अदालतले। त्यसपछि कुरा अगाडि बढेको छैन।

एउटा लेखमा धनु विश्वकर्माले जनाए अनुसार: प्रज्ञा-प्रतिष्ठानको भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागका प्रमुख धनप्रसाद सुवेदी भन्छन्, “भाषा भनेको एकातिर विज्ञान हो जुन नियममा चल्छ। अर्कातिर यो संस्कृति पनि हो जुन परम्परामा चल्छ। यी दुई पक्षलाई मिलाउन आवश्यक छ। भानुभक्तको पालाको आयाको गयाको शब्द अहिले हराइसकेको छ। परम्परा भन्दैमा अब फेरि त्यही चाहियो भन्न मिल्दैन।”

विश्वकर्मा अगाडि लेख्छन्- भाषाविद् शरच्चन्द्र वस्ती प्रज्ञाको शब्दकोशले शब्दहरू बिगारेकाले तिनलाई नसच्याएसम्म त्यसलाई मानक मान्न नसकिने बताउँछन्। भाषा सुधार्न राज्यको आधिकारिक निकाय नै जरुरी नरहेको बरु भाषाविद्हरूको अनौपचारिक गोष्ठी डाकेरै यो काम गर्न सकिनेमा उनको जोड छ। “पहिले बिग्रिएका शब्दहरूको सूची तयार पारिनुपर्छ। तब विज्ञहरूले यसबारे अध्ययन-अनुसन्धान गरेर सुधारका लागि सिफारिस गर्न सक्छन्,” उनी भन्छन्, “त्यही गोष्ठीले भाषामा प्रयोग भइरहेका नयाँ-नयाँ शब्द पनि पहिचान गर्छ। सोही आधारमा मानक स्थापित हुन सक्छ।”

तर प्रश्न छ यस्तो गोष्ठी जुटाउने कसले?

(माथिका उद्धरणहरू हिमाल खबरमा समय-समयमा प्रकाशित सम्बन्धित विद्वान्हरूका लेखहरूबाट लिइएको हो।)

नेपाली भाषा सबैतिर एक रूपले बोलिँदैन। लेख्नेले आफ्नो ठाउँको बोली अनुसार लेख्दा अर्को स्थानकाले राम्ररी नबुझ्ने हुन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *