नेपाली विद्यार्थीले क्यानाडा जान यथार्थ बुझ्नुपर्छ, भ्रममा पर्नु हुँदैन
क्यानाडामा नेपाली आप्रवासनको इतिहास लामो छ। सन् १९६० को दशकदेखि नै मानिसहरू त्यहाँ गएर बसोबास गरेको देखिन्छ। प्रायःजसो पहिले अध्ययनका सिलसिलामा गएका र अध्ययनपछि त्यहीँ बसेकाहरू धेरै छन्। सन् १९६० को दशकमा गएको पुस्ता हाल सक्रिय नहुन सक्छ, अर्थात् उनीहरूको सक्रियता सेलाइसकेको छ। उनीहरूका छोराछोरी, नाति–नातिनाहरू छन्। उनीहरू भने नेपाली समाजसँग नजिकिएका छैनन्।
त्यसपछि, क्यानाडाको अध्यागमन नीतिले सन् २०१० तिरबाट नयाँ नियमहरू ल्यायो र दक्ष पेशेवरहरूलाई आकर्षित गरेको देखिन्छ। हामीहरू पनि त्यसरी नै त्यहाँ पुगेका हौँ। विशेषगरी, प्राविधिक क्षेत्रमा काम गरिरहेकाहरूको ठूलो जमात छ। धेरैजसो इन्जिनियर वा एकाउन्टेन्ट छन्। विविध क्षेत्रका शिक्षित व्यक्तिहरू छन्। त्यस्तै, एउटा ठूलो जमात रेस्टुरेन्ट व्यवसायमा संलग्न छ, जसमा पहिले सेफ वा कुकका रूपमा गएकाहरू पर्छन्। आर्थिक रूपमा निकै सफल व्यवसायीहरू पनि छन्। पेशागत रूपमा सफल भई माथिल्लो पदमा पुगेका सरकारी अधिकारीहरू पनि छन्।
म आफैँ पनि करिब १० वर्ष सरकारी सेवामा काम गरेर अहिले निजी परामर्शदाताका रूपमा काम गर्छु। अझ व्यापार गर्ने, विशेषगरी रेस्टुरेन्ट चलाउनेहरू पनि छन्। रियल इस्टेटको क्षेत्रमा अहिले नेपालीहरूको ठूलो समूह छ। क्यानाडा आफैँमा विशाल देश भएकाले त्यहाँ विभिन्न पेसामा संलग्न विभिन्न किसिमका नेपालीहरू छन्। पछिल्लो समय, अर्थात् कोभिडपछि भने विद्यार्थी युवा पुस्ता अझ बढी आकर्षित भएको देखिन्छ। तर उनीहरूका केही समस्याहरू छन्। त्यो कुरा त्यहीँ गएर १०-१५ वर्ष बसिसकेका मानिसहरूले थाहा पाएर उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर लागिरहेका पनि छन्।
विद्यार्थीले कस्तो शिक्षण संस्था छान्ने?
नेपालबाट धेरैजसो प्लस टु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा स्नातक पढ्न गएको भन्ने भ्रममा हुन्छन्। उनीहरूले कलेजमा भर्ना त गर्छन्, तर कलेजले स्नातकको डिग्री दिँदैन। कलेजले डिप्लोमा मात्र दिन्छ। त्यो कलेज डिप्लोमा स्नातक होइन। जस्तो कि, आईटी पढ्न जान्छु भनेर जाँदा ‘ब्याचलर्स इन इन्फर्मेसन टेक्नोलोजी’ वा ‘ब्याचलर्स इन इन्फर्मेसन एन्ड कम्प्युटर इन्जिनियरिङ’ भन्ने होइन। त्यो कलेज डिप्लोमा मात्र हो। त्यो डिप्लोमा प्राप्त गर्न पनि निकै कठिन हुन्छ। त्यो मध्यमस्तरको जनशक्ति हो भने स्नातक डिग्री उच्चस्तरीय जनशक्ति हो।
कलेज डिप्लोमा भनेको लगभग नेपाली हिसाबले भन्ने हो भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दिने डिप्लोमा जस्तै मात्रै हो। त्यसैले, जो विद्यार्थीहरू साँच्चै म स्नातक, स्नातकोत्तर वा विद्यावारिधि गर्छु भनेर जान्छन्, ती विद्यार्थीहरू सायद झुक्किएर त्यहाँ पुग्छन् र कलेज डिग्री लिन्छन्। त्यो कलेज डिग्रीबाट विश्वविद्यालयमा जान एकदमै गाह्रो छ। जान सकिँदैन भन्ने होइन, तर एकदमै कठिन छ। युनिभर्सिटी अफ टोरन्टो, युनिभर्सिटी अफ हेलिफ्याक्सजस्ता थुप्रै विश्वविद्यालयहरू छन्।
ती विश्वविद्यालयमा पढ्दा भने स्नातकको डिग्री पाइन्छ। सामाजिक स्थानान्तरण र सांस्कृतिक झट्कालगायतका विविध कारणले गर्दा केही नेपाली युवाहरू डिप्रेसनको सिकार भएको, दुर्व्यसनमा फसेको र केही आर्थिक अभावले अप्ठ्यारो अवस्थामा परेको भन्ने पनि सुनिन्छ। तर समग्रमा नेपालीहरूले क्यानाडामा राम्रो गरेका छन्।
पहिले र अहिलेको भिन्नता
सन् १९६० देखि नै नेपालीहरू विभिन्न शहरहरूमा बसोबास गर्दै आएका छन्। क्यानाडा विशाल देश हो। विभिन्न शहरहरूमा छरिएर बसेका कारणले गर्दा सबै प्रमुख शहरहरूमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्थापित हुनुभन्दा अगाडिदेखि नै सामुदायिक सङ्घहरूको अभिलेख छ। अहिले एनआरएनए क्यानाडाले समग्रमा जे गर्न खोजिरहेको छ, त्यो काम त पहिलेदेखि नै स्थानीय स्तरमा भइ नै राखेका थिए। ती सबै सामुदायिक सङ्घहरूले नयाँ आउनेहरूलाई सहयोग गर्ने गरेका छन्।
पहिले त यस्तो संस्कृति नै थियो कि, थोरै मान्छे आउने भएकाले आएका मान्छेहरूलाई विमानस्थलसम्मै लिन जाने, घरमा ल्याएर एक–दुई रात राखिदिने, खाना खुवाइदिने र घरगाउँ नछुटोस् भनेर त्यस्तो गर्ने चलन पनि थियो। साना–साना सामुदायिक सङ्घहरूले त्यो गरिरहेका थिए। तर अहिले भने त्यो केही फरक भएको छ। अहिले जनसंख्या बढेका कारणले गर्दा अलि फरक अवस्था आएको छ।
एनआरएनएको भूमिका
यतिबेला एनआरएनए क्यानाडाले नेपाली समुदायलाई एकताबद्ध गराउने गरी काम गरिरहेको छ। साना–साना समुदायमा केन्द्रित नेपाली क्यानेडियन सङ्घहरूसँग समन्वयमा सहयोग गरिरहेको छ। उनीहरूको मागअनुसार सहयोग गर्ने कार्यक्रमहरू लिएर आइरहेको छ। सहयोग गर्न चाहनेहरूका लागि स्रोत ल्याइदिने काम र त्यहाँको प्रान्तीय सरकार वा सङ्घीय सरकारसँग सम्पर्क गरेर स्रोत ल्याइदिने काम भइरहेका छन्। यस्ता काममा एनआरएनए क्यानाडा सक्रिय छ।
विद्यार्थीको आकर्षण र जागिर
नेपाली विद्यार्थी अर्थात् अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्न क्यानाडाले केही नीतिगत परिवर्तन गरेको छ। पढाइ सकिएपछि एक वर्षपछि स्थायी बसोबास लिन सजिलो बनाइदिएको थियो। त्यसले गर्दा धेरैजसो युवा विद्यार्थीहरू त्यसमा आकर्षित भएको देखिन्छ। पछिल्लो समयमा भने नीतिहरूमा केही परिवर्तन गरिएको छ। त्यसले गर्दा एक वर्ष आफ्नै क्षेत्रमा काम गरेको हुनुपर्नेलगायतका नियम ल्याइएको छ। यसलाई पनि कडाइ गरेका कारण धेरै विद्यार्थीहरू समस्यामा परे। उतै गइसकेकालाई त चुनौती नहोला, तर अब जाने विद्यार्थीहरूलाई भने चुनौतीपूर्ण हुन सक्ने अवस्था छ। किनभने विद्यार्थीहरू डिग्रीभन्दा पनि पीआरको आसमा गएका हुन भन्ने देखिन्छ। त्यस कारण पनि सरकारको नीति परिवर्तन भएको हुन सक्छ।
क्यानाडामा नेपालीको संख्या त थोरै छ। भारतीय वा चिनियाँ मूलका विद्यार्थीहरू धेरै जाने भएकाले नीतिगत कडाइ गरेको हुनुपर्छ। त्यहाँ गएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भनेअनुसार नेपाली शैक्षिक परामर्शदाताहरूले त्यहाँ गएको भोलिपल्टैदेखि काम पाइन्छ भनेर भन्ने गरेका छन्। तर काम पाउन एकदमै गाह्रो छ। काम पाउन त्यहाँका स्थानीय मानिसहरूलाई नै पनि गाह्रो छ। हामीजस्ता पहिलो पुस्ताका नेपालीका छोराछोरीलाई नै काम पाउन मुस्किल छ। नयाँ गएकालाई त झनै गाह्रो छ।
नेपालमा अर्कै किसिमको वातावरणमा हुर्केका अर्थात् बाबुआमाको काखमा बसेर पढेका विद्यार्थीहरूलाई केही कठिनाइ भएको देखिन्छ। काम पनि गर्नुपर्ने, बसाइको ठेगान नहुनेलगायतका चुनौतीहरू छन्। यस्ता कारणले पनि नीतिमा कडाइ गरेको हुन सक्छ। काम नपाउने र काम पाए पनि शोषणमा पर्ने पनि देखिएको छ। जस्तो, कागजमा चाहिँ प्रान्तीय सरकारको उदाहरण लिने हो भने उसले प्रतिघण्टा १७.२ डलर दिनुपर्छ। तर, नेपालीहरूले वा आफ्नै चिनेका मानिसहरूले नै पनि त्यो १७.२ डलर नदिएर १३-१४ डलर दिएर काम गराएको भन्ने पनि छ। नीतिको चुनौती त छँदै नै छ।
नेपाली दूतावासको इतिहास
नेपाली दूतावास ओटावामा छ। नेपाली दूतावास धेरै नै नयाँ छ। नेपाली दूतावासको इतिहास दुई दशकको पनि छैन। पहिले कसरी काम सुरु गर्ने भन्नेमा नै अन्योल हुन्थ्यो। तर पछिल्लो समयमा गएको एनआरएनएको कार्यसमितिसँग नजिक भएर काम गरेका कारण केही सहज भएको देखिन्छ। जसले गर्दा विभिन्न शहरमा रहेका नेपालीहरूलाई राहदानीको समस्या वा नेपालीले भोग्नुपरेका अन्य समस्या समाधान गर्नलाई दूतावासले सहयोग गरिरहेको छ। तर, काठमाडौँमा क्यानाडाको दूतावास छैन। दिल्ली जानुपर्ने अवस्था छ र दिल्लीमा धेरै समस्याहरू भोग्नुपर्छ। हामीले निजी स्तरबाट वा एनआरएनएकै स्तरबाट पनि पहल गरेका छौँ। नेपालमा पनि दूतावास चाहिन्छ भनेर भनेका छौँ। यसमा व्यापार पनि मुख्य कारण बन्न सक्छ। दुई देशको सम्बन्ध हालको अवस्थामा व्यापारसँग सम्बन्धित हुन्छ। अहिले भने क्यानाडाले भारतबाटै व्यवस्थापन गर्ने भनेर हेरिरहेको अवस्था छ।
नेपालीको संख्या र कूटनीति
क्यानाडामा नेपालीको संख्या यति नै भन्ने छैन। तर एक लाख नेपाली छन् भन्ने अनुमान छ। त्यसका आधारमा नेपालीहरू क्रमिक रूपमा सङ्गठित हुँदै छन्। दुईवटा मुख्य सङ्गठनहरू छन्। एउटा त सामुदायिक स्तरका विभिन्न शहरमा रहेका नेपाली सामुदायिक सङ्घहरू छन् भने, ती सबैको साझा सङ्गठनको रूपमा एनआरएनए बन्दैछ। एनआरएनए सन् २००७ मा स्थापना भएको हो। सन् १९८० को दशकदेखि नै सामुदायिक सङ्घहरू भने थिए। तथापि, हाम्रो नेतृत्वले त्यहाँको नेतृत्वसँग आँखा जुधाएर बोल्न सक्ने क्षमता अझै विकास गरिसकेको छैन। जबकि करदाताको हिसाबले वा पेशेवरका रूपमा धेरै उच्च तहका नेपालीहरू छन्।
हामीजस्ता अलिकति कपाल फुलेका पुस्ता चाहिँ यहाँ अवकाश लिन आउन सकिरहेका छैनौँ। ६ महिनाभन्दा बढी क्यानाडाबाहिर बस्नासाथ गैरआवासीय क्यानेडियन भनेर गणना गर्छ। गणना गरेपछि नेपालीले सीधै २५ प्रतिशत कर तिर्नुपर्छ। अब त्यो २५ प्रतिशत कर भनेको धेरै हो र त्यो कर निवृत्तिभरण मा पनि तिर्नुपर्ने हुन्छ। यदि हामीले दोहोरो कर उन्मुक्ति सम्झौता गर्न सक्यौँ भने २५ प्रतिशतलाई घटाएर १० प्रतिशतमा झार्न सक्यौँ भने धेरै नेपालीहरू आफ्नै मातृभूमिमा अवकाश लिन आउने सम्भावना छ। यस्ता कुरामा नेपालको दूतावाससँग पनि सोही हिसाबले सहकार्य गर्नुपर्छ भन्ने छ।
हामी नेपाली एकदम संशयको अवस्थामा छौँ। कूटनीतिक हिसाबले नेपाललाई क्यानाडाले हेर्ने भनेको भारतको झ्यालबाट मात्र हेर्ने हो। कतिपय अवस्थामा हामी भारतीयहरू जस्तै हौँ, तर उही होइनौँ। कूटनीतिक रूपमा हामीलाई अझै पनि भारतीय दृष्टिकोणबाट हेर्दा समस्या हुन्छ। तर, दुई–तीनवटा क्षेत्रबाट नेपालले पहल गर्दा उचित हुन्छ। हामीले सधैँ पर्यटन उद्योगका मात्र कुरा गरेर बस्यौँ, तर पर्यटन मात्रै होइन नि। पर्यटन त एउटा अंश मात्र हो। हामीले मेडिकल पर्यटनबारे नीतिगत प्रस्थान नै गरेनौँ। विश्वव्यापी अवकाशको केन्द्रबारे पनि सोचेनौँ।
सुधारका पक्ष
नेपाल सरकारले सुरु गर्नुपर्ने कूटनीति एउटा मात्र होइन। स्रोत भन्ने कुरा आर्थिक मात्र होइन। धेरै कुरा जोड्न सकिन्छ। नेपालले सिक्न सक्ने सबैभन्दा आधारभूत कुरा के हो भने स्थानीय सरकार र स्थानीय विकास कसरी गर्ने भन्ने सिक्न सकिन्छ। १७ वर्षसम्म हामीसँग स्थानीय सरकार थिएन। अब स्थानीय सरकार आइसकेपछि केही परिवर्तनहरू देखिएका छन्। अहिलेको धेरै अद्यावधिक प्रविधि क्यानाडामा प्रयोग भइरहेको छ। त्यस्तै किसिमको प्रविधि नेपालले प्रयोग गर्न सके, योजनाका उपकरणहरू प्रयोग गर्न सक्यो भने अझ व्यवस्थित हुन सक्छ।
नेपालको इतिहास नै हेर्ने हो भने, नेपाल साना–साना राज्यहरू मिलेर बनेको देश हो। ती साना क्षेत्रहरूको विकासले नै नेपालको समग्र विकास हुन सक्छ। त्यसको सबैभन्दा आधारभूत पक्षलाई बेवास्ता गरेको भनेको भू–उपयोग योजना हो। भू–उपयोग नीति र योजना छैन। एउटा निश्चित क्षेत्रमा व्यावसायिक, एउटा निश्चित क्षेत्रमा आवासीय, अर्कोमा औद्योगिक र संस्थागत हुनुपर्छ। भू–उपयोग योजना गर्यो भने अझ राम्रो र दिगो विकास हुन सक्छ। विकासमा नेपालले सिक्न सक्ने भनेको स्थानीय विकास हो। क्यानाडाले के गर्छ भनेर भन्दा, संयुक्त राज्य अमेरिका प्रभावशाली भए पनि उसले आफ्नो स्वाधीनता, आफ्नो अस्तित्वलाई बचाएर राख्न सकेको छ। नेपालले पनि सकेको छैन भनेको होइन। तर कहाँ बढी प्रभाव हुन्छ भन्ने हो।
१८औँ शताब्दीदेखि नै युरोपेलीहरू गएर बसोबास गरेका कारणले गर्दा त्यहाँ बहुसांस्कृतिकवाद छ। नेपाल पनि बहुसांस्कृतिक देश हो। ९४ वटा जातजाति छन् नेपालमा। त्यसैले नेपाल पनि बहुसांस्कृतिक हो। यसलाई मूलधारको राजनीतिमा ल्याएर विकास गर्न सकिन्छ। त्यो क्यानाडाबाट नेपालले सिक्न सक्ने धेरै ठाउँ छ। त्यसले गर्दा भौतिक विकास, सामाजिक विकास र सांस्कृतिक विकास तीनवटै किसिमका विकासहरूमा क्यानाडाबाट नेपालले सिक्न सक्छ। नेपालले क्यानाडालाई सिकाउन पनि सक्छ। कतिपय कुराहरू नेपालले क्यानाडालाई सिकाउन सक्ने पनि छन्। (नेपाल न्युज बैंक)
-लेखक एनआरएन क्यानाडाका वरिष्ट उपाध्यक्ष हुन्।

यहाले महतणवपुर्ण कुरा लेख्नु भयाे।
नेपालले गर्नु पर्ने र क्यानडा बाट सिक्नु पर्ने मुर्त कुराअरु लेखिदिनुस।