कोइरालालाई ‘कोशराज रेग्मी पत्रकारिता पुरस्कार’

विराटनगर। अग्रज पत्रकार तीर्थ कोइरालालाई ‘कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ मोरङ शाखाले यो पुरस्कार प्रदान गर्ने भएको हो। पुरस्कारको राशि २५ हजार रूपैयाँ छ।

शाखा अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा बसेको बैठकले नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष तथा ‘न्यूज २४’ दैनिकका प्रधानसम्पादक कोइरालालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

शाखा सचिव नेत्र पी अधिकारीका अनुसार पुरस्कार भदौ ७ गते मोतीराम जयन्तीका अवसरमा हस्तान्तरण गरिने छ। यसअघि उक्त पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु हरिहर विरही, विष्णु निष्ठुरी र धर्मेन्द्र झा पुरस्कृत भइसकेका छन्।

शाखाले कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार र पीताम्बर–खिलेश्वरी पत्रकारिता पुरस्कार प्रत्येक २–२ वर्षमा प्रदान गर्दै आएको छ।

धेरैलाई पत्रकारिताको तालिम समेत प्रदान गरेका उनी भन्ने गर्थे, ‘पत्रकारिता कलामात्र होइन, यो एउटा शैक्षिक–राजनीतिक विज्ञान पनि हो।’ रेग्मीले २०१५ असार ८ गतेदेखि जनवार्ता पत्रिकाको प्रकाशन गरेका थिए।

विराटनगर-१२ पिचरा निवासी रेग्मीले लामो समयसम्म पत्रकारितामा योगदान गरेका थिए। उनकै स्मृतिमा परिवारले पुरस्कार स्थापना गरेको हो।

संखुवासभाको वानाबाट आएर वि.सं २०१४ देखि विराटनगरमा बसोबास गर्दै आएका रेग्मीले जीवनका अधिकांश समय पत्रकारिता, साहित्य साधना र समाजसेवामा बिताएका थिए।

वि.सं १९८९ साउन कृष्ण चतुर्दशीमा जन्मिएका रेग्मीको १० वर्षअघि चैतमा निधन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *