विपिनकी आमाले इजरायली राष्ट्रपतिलाई भनिन्, ‘छोराको रिहाइका लागि पहल होस्’
काठमाडौं। प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र संसदका अध्यक्ष अमिर ओहानासँग भेटेका छन्।
विपिनको रिहाइको पहलका लागि उनीहरू इजरायल पुगेका हुन्। इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटमा राजदूत धनप्रसाद पण्डित पनि उपस्थित थिए।
त्यस क्रममा विपिनकी आमा पद्माले राष्ट्रपति हर्जाेगसँग छोराको तत्काल रिहाइका लागि पहल गरिदिन अनुरोध गरिन्। बहिनी पुष्पाले पनि दाजुलाई सुरक्षित रूपमा नेपाल फर्काउन विशेष प्रयास गरिदिन आग्रह गरिन्।
राष्ट्रपति हर्जाेगले विपिनको घटनाबारे आफू र आफ्नो सरकार निरन्तर सचेत रहेको बताए। त्यसैगरी, विपिनका परिवारले संसद अध्यक्ष अमिर ओहानासँग पनि भेट गरी विपिनको रिहाइको लागि आग्रह गरे। अध्यक्ष ओहानाले पनि विपिनको रिहाइको प्रयास जारी रहेको जवाफ दिएको नेपाली राजदूतावासले जनाएको छ।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा विपिनलाई अन्य १० जना नेपालीसहित बन्धक बनाएको थियो। हालसम्म उनीबाहेक सबै नेपालीहरू सकुशल नेपाल फर्किसकेका छन्। विपिनको अवस्था अझै अज्ञात छ।
