विराटनगरमा आज राधाकृष्ण रथयात्रा

विराटनगर। यस वर्षको राधाकृष्ण रथयात्रा आज आइतबार आयोजना हुँदैछ। यस अवसरमा ठूलो संख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने अनुमान गरिएको छ। यस अवसरमा प्रदेश सरकारले मोरङ, झापा सुनसरीमा बिदा दिएको छ।

रथयात्राको सुरुवात १९८८ सालमा ‘खटयात्रा’ को रूपमा भएको थियो। २०२२ सालमा गोरुगाडामा राखेर निकाल्न थालिएको थियो। २०२५ सालमा भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरी रथयात्राका रुपमा निकाल्न थालिएको इतिहास छ।

यस वर्ष रथलाई नयाँ तरिकाले सिँगारिएको छ। भक्तजनहरूले भगवानको दर्शन सहजै गर्न पाऊन् भनेर रथको आकार र ढाँचामा परिवर्तन गरिएको छ। प्यागोडा शैलीमा बनेको यो रथको डोरी छोएमा मनोकामना पूरा हुने र मोक्ष पाइने विश्वास छ।

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भएर तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमै फर्किएर समापन हुनेछ। दिउँसो ३ बजे सुरु गरिने रथयात्रा ९ किलोमिटर यात्रापछि राति करिब ९ बजे समापन हुने जनाइएको छ।

यसलाई विराटनगरको एक प्रमुख चाडका रूपमा लिइन्छ। झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा लगायतका पूर्वी जिल्लाहरूका साथै भारतको बिहार र पश्चिम बंगालबाट पनि भक्तजनहरू आउने गर्छन्।

समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार यो रथयात्रा धार्मिक मात्र नभई सामाजिक र साम्प्रदायिक सद्भाव बढाउने पर्व पनि हो। यसमा सबै जातजाति र भाषाभाषीको सहभागिताले आपसी प्रेम र सद्भावलाई बलियो बनाउँछ।

रथयात्रामा कुनै अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार रथयात्रालाई शान्तिपूर्ण र सुरक्षित बनाउन विशेष सुरक्षा रणनीति तयार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसँगको सहकार्यमा सादा र पोसाकधारी प्रहरीलाई व्यापक रूपमा परिचालन गरिनेछ।

विराटनगरको राधाकृष्ण रथयात्रा निकै प्रसिद्ध छ। यसलाई दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राको रूपमा दाबी पनि गरिँदै आएको छ। भारतमा पनि वृहत् रुपमा रथयात्रा निकालिन्छ। नेपालमा इलाम, इटहरी, झापा, धनकुटा, दमौली, काठमाडौं, पाल्पा लगायत स्थानमा पनि रथयात्रा तथा शोभायात्रा निकालिन्छ।

यस अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) जस्ता संस्थाहरूले देशका विभिन्न गाउँ–सहरमा विशेष कार्यक्रम आयोजना गर्दै आएका छन्।

महानगरको ४५ लाख सहयोग

यसैबीच, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राधाकृष्ण रथयात्राका लागि शुभकामना व्यक्त गरेका छन्। उनले रथयात्रालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न आह्वान गरेका छन्।

नेपालको बहुल भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने विराटनगरजस्तो सहरमा विविधताभित्रको एकता झल्काउने खालका सांस्कृतिक कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्दै मेयर कोइरालाले रथयात्राले आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार यसपटक रथयात्रालाई व्यवस्थित बनाउन महानगरपालिकाले झन्डै ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसबाट नयाँ र आकर्षक रथ निर्माण गरिएको छ।

यात्राका क्रममा भीडको चाप हुने भएकाले महँगा गरगहना नलगाउन, व्यक्तिगत सामानको सुरक्षा गर्न, ज्येष्ठ नागरिक र बालबालिकाको विशेष ख्याल राख्न र सौन्दर्यकरण अभियानअन्तर्गत रोपिएका फूल तथा विरुवा संरक्षणमा ध्यान दिन मेयर कोइरालाले अनुरोध गरेका छन्।

यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रथयात्रालाई प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको जगेर्ना गर्ने महत्वपूर्ण पर्व भन्दै शुभकामना दिएका छन्। यस पर्वले सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको अद्वितीय उदाहरण प्रस्तुत गरेको उनले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *