हाँसे पुण्य, नहाँसे शून्य
हाम्रो गाउँमा एक विनोदपूर्ण स्वभावका कटुवाल बाबै थिए। उनी बेलाबेलामा हाम्रो घरमा आएर मेरा बासँग कुराकानी गर्थे। मेरा बा पनि ठट्टा गर्ने स्वभावका हुनुहुन्थ्यो। अलिकति रमाइलो कुरा हुनेबित्तिकै कटुवाल बाबै यसरी हाँस्थे, मानौँ उनी हाँसोका व्यवहारिक विशेषज्ञ हुन् र त्यसको प्रदर्शन गरिरहेका छन्। उनी ५०/५५ वर्षका थिए होला तर उनको एउटा पनि दाँत थिएन। चालिस वर्ष नपुग्दै सबै दाँत झरिसकेका थिए रे। उनी हाँस्दा उनका राता गिजा भित्रैसम्म देखिन्थे।
उनीहरू अलि लेकाली भेगबाट बसाइँ सरेर हाम्रो गाउँमा आएका थिए। बाबैको कद होचो, शरीर मोटा थियो। उनको वर्ण सेतो–रातो र अनुहार तेजिलो थियो, पश्चिमा गोराहरू जस्तै। उनका गाला हेर्दा रगत चुहिहाल्ला जस्ता देखिन्थे। उनको हाँसो देखेर आरिस लाग्थ्यो। उनलाई कुनै कुरा मन पर्यो भने ‘ख्वाँइ ख्वाँइ ख्वाँइ’ गर्दै यसरी हाँस्थे, मानौँ उनका शरीरका प्रत्येक कोशिका रमाएर उनीसँगै हाँसिरहेका छन्। हाँस्दाहाँस्दै बाबैको आँखाबाट बेलाबेला आँसुसमेत झर्थ्यो।
दाँत नभए पनि उनी स्वस्थ देखिन्थे। उनको परिहासपूर्ण जीवनशैली नै उनको राम्रो स्वास्थ्यको कारण हो जस्तो लाग्थ्यो मलाई। हाँस्नु स्वास्थ्यका लागि ज्यादै राम्रो हुन्छ भन्ने सुनेको र पढेको मलाई लाग्थ्यो कि यी बाबै सय वर्ष त अवश्यै बाँच्छन्। मलाई उनी हाँसेको हेर्न उत्सुकता भइरहन्थ्यो। बाटोमा भेट्दा पनि एकछिन रोकिएर, केही कुरा भनेर बाबैलाई हँसाएर त्यसको रसास्वादन गर्थेँ।
हास्यविनोद मानिसको जीवनको एउटा महत्त्वपूर्ण पक्ष हो। यो सबैका लागि रुचिकर हुन्छ। त्यसैले नाटक, सिनेमा आदिमा समेत हँसाउने दृश्य र पात्रहरू राखिएका हुन्छन्। पुराना अङ्ग्रेजी सिनेमामा चार्ली च्याप्लिन चर्चित हास्यकलाकार थिए। हिन्दी चलचित्रमा महमूद अली पनि त्यस्तै थिए। हलिउडमा जेरी सिन्फेल्डलाई धेरैजसोले एक नम्बरका हास्यकलाकार मान्छन्। नेपालमा महजोडीको प्रसिद्धि मुख्यतया हास्य कलाकारकै रूपमा छ। हिजोआजको चर्चित नेपाली कमेडी सो पनि निकै लोकप्रिय देखिन्छ।
संसारका सबै मानिसले मन पराउने कुराहरूमा सङ्गीत, फूल, पानी र हास्यविनोद सबैभन्दा अगाडि आउँछन् होला। संसारमा नाम चलेका मानिसहरूका साझा स्वभावमा मनोविनोद पर्छ। मोटिभेसनल स्पिकरहरू, नाम चलेका नेताहरू, प्रसिद्ध विद्वान्हरूले आफ्ना सम्भाषणका बीचबीचमा हाँसो ठट्टा मिसाउन रुचाउँछन्। यसो गर्नाले श्रोतामा उत्पन्न हुने नीरसता हटाएर उनीहरूको ध्यान तान्न मद्दत गर्दछ।
भनिन्छ, हाँसो सरुवा प्रकृतिको हुन्छ अर्थात् तपाईं मुस्कुराउनुभयो भने, जस्तोसुकै अपरिचित मानिस भए पनि तपाईंको अगाडिको मानिसले जवाफमा मुस्कुराउँछ। तपाईं हाँस्नुभयो भने, कुरा नबुझे पनि तपाईं किन हाँस्नुभयो भनेर वरपरका मानिसहरूले कान ठाडो पार्छन्। कुरा बुझेपछि नहाँसी सक्दैनन्। घरपरिवारमा कुनै नानीबाबु रिसाएर गुमसुम परेर बसेका छन् र तिनका वरपर रहेका अरू सदस्यहरू कुनै कारणले गर्दा मजाले हाँसे भने, नानीबाबुहरू पनि रिसाएको कारण बिर्सेर हाँस्न थाल्छन्।
हाँसो स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ। हाँस्दा मस्तिष्कबाट इन्डोर्फिन र डोपामाइन जस्ता हर्मोनहरू निस्किएर शरीरभरि फैलन्छन्। यस्तो अवस्थामा जोसुकैलाई विशेष आनन्दको अनुभूति हुन्छ। भनिन्छ, हाँस्दा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सशक्त हुन्छ, शरीरमा कुनै पीडा छ भने त्यो कम हुन्छ। हाँसोले तनावलाई कम गराउँछ र मनमा प्रफुल्लता ल्याउँछ। मन र शरीरलाई तत्काल सन्तुलनमा ल्याउन हाँसो जत्तिको प्रभावकारी अरू थोक छैन भनिन्छ।
ठट्टाले मनको बोझलाई कम गराउँछ, आशा जगाउँछ, अरूसँग जोड्छ, यथार्थ धरातलमा उभिन सिकाउँछ र होसियार बनाउँछ। यसले रिसमुक्त गराउन र क्षमाशील बन्न सहयोग गर्दछ। हाँसोले पाचनक्रियालाई समेत सक्रिय पार्दछ। यसरी शारीरिक तथा मानसिक रूपमा मानिसलाई स्फूर्तिमय बनाउने हाँसोले मानिसको आयुमा समेत वृद्धि गर्दछ। हाँसो मानिसका लागि सर्वौषधि सरह छ।
स्तरीय पत्रपत्रिकामा कतै न कतै ठट्टा समावेश गरिएको हुन्छ। चलनचल्तीमा यस्ता ठट्टाहरूलाई चुटकिला वा जोक भन्ने गरिन्छ। तिनको सङ्कलन धेरै भाषामा पुस्तकको रूपमा समेत पाइन्छ। नजिकका साथीभाइबीच भनिने कतिपय जोकहरू अश्लील प्रकृतिका हुन्छन्, जसलाई ‘नन्भेज’ भन्ने चलन छ। ‘नन्भेज’ जोकहरू सङ्केतात्मक वा आलंकारिक पनि हुन्छन्, जो विशिष्ट महिला–पुरुषहरूबीच समेत चल्ने गर्दछ।
एक सज्जन (साथीहरूबिच): मीनाक्षी ज्यादै आकर्षक देखिनुहुन्छ।
मीनाक्षी: मेरो कुरा छिनिएपछि मात्रै मसँग भेट भएकामा राजीवलाई जीवनभरको गुनासो छ।
‘नन्भेज’ जोकहरू यति तीव्र गतिमा फैलिन्छन् भनिसाध्य छैन। उदाहरणका लागि, तपाईंले एउटा चाखलाग्दो ‘नन्भेज’ जोक बनाएर आफ्नो श्रीमतीजीलाई खुसुक्क भन्नुहोस्। एक–दुई हप्तापछि तपाईंको कुनै मित्रले त्यही जोक तपाईंलाई सुनाउँछन्। त्यतिञ्जेलमा तपाईंको श्रीमतीबाट उनका साथीहरू, तिनबाट उनका श्रीमान् हुँदै त्यसले निकै चक्कर मारिसकेको हुन्छ।
कुनै जोकहरू विशिष्टीकृत हुन्छन् जसलाई सुनेर तत्काल त हाँसिँदैन तर तिनले धेरै लामो समयसम्म कुत्कुत्याइरहन्छन्। एउटा दुर्गम गाउँका दुई दाजुभाइ काठमाडौँमा पढ्दा रहेछन्। संयोगवश तिनलाई जोकको सोख लागेछ र तिनको सङ्कलन गर्न थालेछन्। जोकको सङ्ख्या चार हजार जति पुगेछ। हुँदाहुँदा, जोक भनिरहनुको सट्टा ती दाजुभाइ तिनको सङ्कलनमा भएको जोकको क्रमसङ्ख्या भनेर हाँस्न थालेछन्।
भाइले भन्छ, “नौ सय एकतीस हो कि दाजु?” दाजु चाहिँ त्यो क्रमसङ्ख्याको जोक सम्झन्छ र हाँस्छ।
दशैँको बिदामा दुवै भाइ घर गए। बेलुका अगेनामा आगो तापेर बसिरहेका बेला दाजुले एउटा जोक सम्झेर भाइलाई भनेछ, “एकाईस सय त्रिपन्न हो कि भाइ?”
भाइ हाँसेन। दाजुलाई लाग्यो, भाइले त्यो सङ्ख्याको जोक बिर्सेछ। सुत्न कोठामा गएपछि भनेछ, “तैँले एकतीस सय त्रिपन्न बिर्सिस्?”
भाइ: “बिर्सेको छैन। किन बिर्सन्थें?”
दाजु: “अनि अघि हाँसिनस् त?”
भाइ: “अँ, भाउजुहरू त्यहीँ हुनुहुन्छ, अनि त्यस्तो ‘नन्भेज’ जोकमा कसरी हाँस्नु?”
भारतीय संसद्मा एकले अर्कालाई व्यङ्ग्य गरेका प्रसङ्गहरू खुब रमाइला हुन्छन्। एक पटक एक काँग्रेस सांसदले एउटा कथा सुनाए: एक देशमा एक बाबुले आफ्ना तीन छोरालाई जनही एक सय रुपियाँ दिएर प्रत्येकलाई भने, “यस पैसाले त्यो हाम्रो बैठक कोठा डम्म भरिने सामग्री किनेर ल्याऊ।”
जेठोले भुसने पराल ल्याएर राख्यो तर कोठा भरिएन। माहिलोले रुई ल्याएर राख्यो, त्यसले पनि कोठा भरिएन। कान्छोले एक रुपियाँको मैनबत्ती ल्याएर बाल्नासाथ उज्यालो कोठाभरी फैलियो। “हाम्रा प्रधानमन्त्री त्यो कान्छो जस्तै छन् जसले आफ्नो पद बहाल गर्नासाथै समृद्धिको उज्यालोले देश ढाकेको छ।”
भारतीय जनता दलका सांसदको लहरबाट एउटा आवाज आयो, “त्यो सब त ठीक छ, तर बाँकी उनान्सय रुपियाँ खोइ?”
हाम्रो संसद्मा यस्तो जीवन्त कटाक्ष हुने गरेको छ–छैन थाहा छैन। तर, हिजोआजको संसद्को अवस्था देख्दा यस्ता शिष्ट र भद्र घोचपेच हुने गरेको होला भन्ने लाग्दैन। यहाँ त सिधै ललकारिन्छ, आक्षेप लगाइन्छ वा धम्क्याइन्छ। “‘के रे, के रे, तिम्रो बाजेको बिर्ता हो रे यो संसद्?’” जस्ता वाक्यहरू सहज रूपमा व्यक्त हुन्छन्।
हँसाउने जोकको रचनामा देखिने सिर्जनशीलता त छँदैछ, त्यसलाई भन्ने वा सुनाउने शैलीले त्यसमा थप्ने रोचकताको छुट्टै रौनक हुन्छ। व्यङ्ग्यात्मक ठट्ट्यौलीमा प्रत्युत्पन्न मतिका मानिसले अग्रता कायम गर्छन्।
शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन्।
रामेले भेटेजति सुन, चाँदी र पैसा लिएछ तर शेरेले एक किलो ‘हुलास’ गहुँको पिठो मात्रै ल्याएछ।
रामे: “ओइ, सुन, चाँदी, पैसा छोडेर किन यो पिठो मात्रै ल्याएको?”
शेरे (मुसुक्क हाँस्दै): ‘’हुलास भए अरू किन खोज्ने?”
तपाईंले यात्रा गर्दा बाटोमा कुकुरले गाडीलाई भुक्दै पछ्याएको, कुखुराले आत्तिएर बाटो काटेको र हाँसले आफ्नै तालमा बिस्तारै बाटो काट्दा गाडी रोक्नुपरेको जस्ता दृश्य देख्नुभएको होला। त्यस बारेमा एक जिप चालकले उनको गाडीमा सवार हामीलाई कथा सुनाए: एक पटक केही हाँस, केही कुखुरा र केही कुकुर यसै गरी गाडीमा यात्रा गर्दै रहेछन्। सबैभन्दा पहिले हाँसको गन्तव्य आइपुगेछ। सबै हाँस ओर्लिएपछि तिनको नाइकेले हजारको नोट ड्राइभरको हातमा राखिदियो। फिर्ता दिने तीन सय पचास रुपियाँ जुटाउन ड्राइभरले आफ्ना सबै गोजी छाम्नुपर्यो। यसमा अलिकति समय लाग्यो।
त्यसको केही पर पुगेपछि कुखुराको गन्तव्य आइपुग्यो। सबै कुखुरा ओर्लिएपछि तिनको नेतृ ठूलो पोथीले “लु, मैले त खुद्रा नै दिएँ” भन्दै दश–बीसका कुच्याएका एक मुठी नोट ड्राइभरका हातमा राखिदिएपछि कुखुराको हूल डिलमुनितिर भाग्यो। सबै नोट सोझ्याएर गन्दा पचास रुपियाँ कम रहेछ। तर कुखुराले त चम्पट कसिसकेका थिए। ड्राइभर रिसले आगो भएर भुतभुताउँदै तिनलाई सराप्दै अगाडि बढे।
अन्तिममा कुकुरहरूको पनि गन्तव्य आइपुग्यो। सबै कुकुर ओर्लिएपछि तिनको नाइकेले ड्राइभरका हातमा हजारको नोट थमाउनासाथ उनले गाडी हुइँक्याइहाले। नाइके कुकुर भुक्दै थियो। कुखुराले उठाएको रिसका कारण कुकुरलाई फिर्ता दिनेतिर ड्राइभरको ध्यानै गएन।
त्यहाँदेखि यता गाडी देखेर पनि हाँसले आफ्नो सुर छाड्दैन किनभने उसले केही बिगारेको छैन। भाडा थोरै दिएका कुखुराहरू ड्राइभरको डरले गाडी देख्नासाथ आत्तिएर भाग्छन्। पैसा फिर्ता नपाएका कुकुरहरू गाडी देख्नासाथ झम्टन पुग्छन्।
तिनै ड्राइभरले सुनाएका दुई जोक:
शिक्षक: डेट र तारिखमा के फरक छ?
पछिल्लो बेन्चबाट एउटा केटो: सर, डेट गर्लफ्रेन्डका साथ गइन्छ भने तारिख वकिलका साथ।
पति: डार्लिंग, तुम खुबसूरत होती जा रही हो।
पत्नी (किचनबाट): तुमने कैसे जाना?
पति: तुम्हें देखकर तो अब रोटियाँ भी जलने लगी हैं।
